ताजा समाचार:
Search

बेनी अस्पतालमा पुग्दा ……

ठाकुरप्रसाद आचार्य /बेनी
जेठ १ गते ।

  म पछिल्ला एकहप्ता यता दिनमा दुईपटक अस्पताल पुग्छु । कोरोनाको जोखिम बढेसँगै जिल्लामा निषेधाज्ञा जारी छ । वाहिर निस्किन पाइदैन । म एक सञ्चारकर्मी भएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले कोठामा बस्न मनै लाग्दैन । अस्पतालमा आज कस्ता विरामीहरु आए,उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ र जिल्लामा कोरोनाको अवस्था कस्तो छ आदी आदि यस्तै कुराहरु बुझन म अस्पतालमा पुग्छु ।

केही दिन यता बेनी अस्पतालमा पुग्दा प्रयाजसो दिनहरुमा विरामीहरु भरीभराउ नै देखिन्छन् । शनिबार पनि बेनी अस्पतालको आकष्मिक कक्ष कोरोना संक्रमितका विरामीहरुले भरिभराउ थियो । वाहिर विरामीका आफन्तहरु थिए । सवै विरामीहरुलाई अक्सिजन दिइएको थियो । विरामीहरु कोरोनासँग लडिरहेका छन् । स्वास्थ्यकर्मीहरु उपचारमा तल्लिन देखिन्थे ।

केही दिन अघिको कुरा हो मेरै आखा अगाडि एकजना कोरोना संक्रमितको ज्यान गयो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको थियो । हाइफ्लो अक्सिजन दिँदा पनि अक्सिजनको तह नवढेपछि उनको निधन भयो । अझै ति संक्रमित मेरो आँखा वरीपरी घुमिरहेका छन् । लाग्छ अस्पताल पुग्दा संसार केही रहिनछ जिन्दगी यस्तै रहेछ ।

म एकछिन अस्पताल पुग्दा त कतै कोरोना सरिहाल्छ की भनेर डराउछु । स्वास्थ्यकर्मीहरु ज्यानको बाझी मारेर कोरोनाका विरामीको सेवामा तल्लिन छन् । ज्यानको प्रवाह नगरी सेवा खटिएका स्वास्थ्यकर्मीहरुलाई सलाम छ ।

वाहिर स्वयमसेवकहरु संक्रमितहरुलाई गाडीबाट झार्ने,पोखरा लैजानुपर्ने विरामीको व्यवस्थापन र गाउँबाट विरामीको फोन आउँदा वित्तिकै कुद्नका लागि तयारी अवस्थामा देखिन्थे । राती १२ बजे पनि फोन आउँछ विरामीलाई ल्याउन कुदिहाल्नुपर्दछ अस्पतालमा खट्नुभएका जिल्ला प्रशासन कार्यालयका कर्मचारी आनन्द रिजालले भन्नुभयो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल निरन्तर रुपमा अस्पतालमै बसेर व्यवस्थापनमा जुट्नुभएको छ । रेडक्रस म्याग्दीबाट खटिनुभएका सुरत केसी र जिल्ला प्रशासन कार्यालयका रिजाल संक्रमितको सेवामा फ्रन्टलाइनमा रहेर खट्ने स्वयमसेवक हुनुहुन्छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै म्याग्दीमा संक्रमितको संख्या दिनदिनै उकालो लाग्दै छ । शनिबार मात्रै २ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । अस्पतालमा विरामी आउने क्रम जारी छ ।

कोरोनाको उपचारका लागि जिल्लामा एकमात्र सरकारी अस्पताल छ । शनिबार बेनी अस्पतालमा पुग्दा सवै शैयाहरु भरीभराउ देखिन्थे । शनिबार साँझ १८ जना कोरोनाका विरामीहरु उपचाररत छन् । सवै विरामीहरुलाई अक्सिजन दिइएको छ । स्वासप्रस्वासमा समस्या भएपछि उनीहरु अस्पतालमा आएका हुन ।

विरामीहरुको संख्या बढ्न थालेपछि अस्पतालले बेनी नगरपालिकाको सहयोगमा थप २० बेड क्षमताको अक्सिजन सहितको आईसोलेसन कक्ष निर्माण गरेको छ । आइतबारबाट सञ्चालनमा ल्याइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।

 

आज धेरै संख्यामा संक्रमित थपिएका छन् । जहाँ सम्म राती धेरै विरामीहरु आउन सक्छन् । त्यसको तयारी पनि हामीले गरेका छौं कटुवालले भन्नुभयो ‘अहिले सम्म अस्पतालले थेक्न सकेको छ ।

अक्सिजनको अभाव हुन दिएका छैनौं ।’ अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुको साथ र सहयोगले धन्नै अहिले सम्म धानेका छौं उहाँले भन्नुभयो । संक्रमितको उपचारमा कुनै कसर वाँकी राखिएको छैन । स्वास्थ्यकर्मीहरु निरन्तर खट्नुभएको छ । हाम्रो दक्षता र क्षमताले भ्याए सम्म संक्रमितको उपचार अस्पतालले गरेको छ कटुवालले भन्नुभयो ।