बेनीमा अबैध रुपमा पेट्रोलियम पर्दाथको विक्रि वितरण

12045495_1066796346677934_2932269033624123823_o

ठाकुरप्रसाद आचार्य / समय सन्दर्भ एक टिप्पणी ः
नयाँ संविधानको विरोध गर्दै तराईमा जारी आन्दोलनका कारण मुलुकभर इन्धन संकट उत्पन्न भएको छ । इन्धन संकटका कारण बजारमा यतिखेर कालाबजारी वेस्सरी मौलाएको छ । सर्वसाधारण उपभोक्ताहरु कालोबजारीको मारमा परेका छन् । सरकारका निकायहरु मौन छन् । इन्धन अभावभको कारण देखाउँदै बजारमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासीएको छ । आकासिएको मूल्यलाई नियन्त्रण गर्ने निकायको अत्तोपत्तो छैन ।

बजारमा फरक फरक पेशा, व्यवसाय गर्ने व्यवसायीहरु यतिखेर इन्धन कालोबजारी गर्न पल्किएका छन् । अन्य व्यवसाय भन्दा इन्धन विक्रिबाट धेरै पैसा कमाउने दाउमा यतिखेर बजारका केही व्यक्तिहरु लागेका छन् । उनीहरुले भारतीय नाकामा पुगेर अवैध रुपमा इन्धन खरिद गरी चर्को मूल्यमा बजारमा विक्रि गरेका छन् । नेपाल सरकारको इजाजत प्राप्त व्यक्ति वा संस्थाले मात्र इन्धनको विक्रि वितरण गर्न पाउँछ । तर यतिखेर बजारमा कालोबजारी गरेको इन्धन छयाप छयाप्ती रुपमा पाइन्छ । यसरी अबैध तरिकाले व्यवापार व्यवसाय गर्नेहरुलाई कुनै निकायले कारवाही गर्ने हिम्मत सम्म गरेको छैन ।

निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघले पनि यसवारेमा मौनता साधेको छ । यतिखेर मुलुकभर इन्धनको कालोबजारको मारमा सर्वसाधारण नागरिक परेका छन् । यसका साथै म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि इन्धनको चर्को रुपमा कालोबजारी गरेको सर्वसाधारणहरुको गुनासो आएको छ । बजारमा कालोबजारी गर्नेहरुको विगविगी छ ।

पेट्रोल पम्पमा इन्धन छैन तर बजारमा कालोबजारी गरेर भित्राइएको इन्धन व्यापकरुपमा छ । आयल निगमकै कर्मचारीहरु समेत कालोबजारमा संलग्न भएकाले समस्या आएको सरकारकै प्रतिनिधिहरुको भनाईले पुष्टी गरेको छ । सरकारका अंगहरुले कालोबजारी नियन्त्रण गर्न सकेका छैनन् । मुलुककासामु परेको संकटमा खेल्ने र रमाउनेहरु देशद्रोही हुन । यस्ता अबैध क्रियाकलापहरुमा संलग्नलाई सरकारले कानुन अनुसार कारवाही गर्नुपर्दछ । नागरिकहरुले पनि यस्तो समयमा सरकारका अंगहरुलाई सहयोग गरेर कालोबजारी नियन्त्रण गर्न सहयोग पु¥याउनुपर्दछ ।

मुलुकका अन्य स्थानहरुमा जस्तै बेनीमा पनि इन्धनको अवैध विक्रि वितरण भएको छ । नियम अनुसार जिल्लामा भित्रिएको इन्धनलाई पेट्रोल पम्प मार्फत पारदर्शी तरिकाले वितरण गर्दै कालोबजारीमा दौडधुप तरिकाले लाग्नेहरुलाई छोड्नु हुँदैन। उनीहरुलाई नियमअनुसार कारवाही गर्न प्रशासन किन डराइरहेको छ बुझ्न सकिएको छैन ।

म्याग्दीमा भएको कालोबाजारीलाई नियन्त्रण गर्नका लागि यहाँको उद्योग वाणिज्य संघ,जिल्ला प्रशासन र पुलिस प्रशासले सक्रियता देखाउनुपर्दछ । यसका साथै नागरिक समाजको त्यसमा सहयोग हुनुपर्दछ । जिल्ला जिल्लाबाट कालोबजारीलाई निर्मुल पार्ने अभियान चलाउन सकेमा मात्र देशभरको यो समस्यालाई समाधान गर्न सकिन्छ । कालोबजारीलाई निरुत्साहित गर्न सकेमा अहिले भित्रिएको इन्धनले थोरै मात्रामा भएपनि बजारलाई सन्तुलनमा राख्न सक्थ्यो ।

नियम र कानुनी तरिकाले मात्र इन्धनको विक्रि वितरण गर्ने प्रणालीलाई राज्यका अंगहरुले पूर्णरुपमा व्यवहारमा लागु गर्न सक्नुपर्दछ । तव मात्र इन्धनको कालोबजारी नियन्त्रण गर्न सकिन्छ । बल्ल नागरिकहरुले राहत पानेछन् । यसतर्फ स्थानीय प्रशासनले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्दछ नकी टुलुटुलु हेरीवस्ने होइन ।