गीतबाट म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार

विकल्प न्यूज/बेनी
कार्तिक ७ गते ।
गीत र म्युजीक भिडीयो मार्फत म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न थालीएको छ ।

पर्यटकीय, धार्मीक, ऐतिहाँसीक र सांस्कृतीक सम्पदाको बारेमा गीत र म्युजीक भिडीयो बनाएर प्रचार गर्ने क्रम बढेको हो । गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले पछिल्लो तिन वर्षयता दश वटा भन्दा बढी गित र म्युजीक भिडीयो तयार भैसकेका छन् ।

बिम, दाना, चिमखोला, बेगखोला, घोडेपानी, राम्चे, नागी लगायतका गाउँको विषयमा गित र म्युजीक भिडियो निर्माण भएको हो । आन्तरीक पर्यटक भित्र्याउनका लागि गाविस र गाउँको परिवेशलाई समेटेर गित तथा म्युजिक भिडीयो तयार गर्ने क्रम बढेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो ।song-photo“सञ्चार माध्यम, सूचना प्रबिधि र सामाजिक सञ्जालको बढ्दो विकास तथा प्रयोगले गीतसंगित मनोरञ्जनमा मात्र सिमीत छैन्” अध्यक्ष जिसीले भन्नुभयो “गाउँ ठाउँलाई चिनाउने प्रभावकारी माध्यम पनि बनेका छन् ।” गीतमा प्रयोग भएका शब्द, लय र संगितसंगै दृष्यहरुले पर्यटक लोभ्याउने प्रभावकारी माध्यम बनेका जिसीको भनाई छ ।

गाउँमा आउने पाहुनालाई स्वागत गर्न र कार्यक्रमहरुमा नृत्यका लागि यस्ता गितहरु प्रयोग भएका छन् । विभिन्न गाउँका गितहरु युट्युवमा समेत राखिएको छ । घुम्नलाई नांगी गाउँ आउँ…. बोलको गित रेकर्ड गर्नुभएका स्थानीय शिक्षक किसन पुनले म्युजीक भिडीयोको छायांकनको तयारी गर्नुभएको छ ।

गाउँको परिचय गराउने, भावी पुस्तालाई गीतसंगित र कला, संस्कृतीको संरक्षणमा जागरुक बनाउने उद्देश्यले पर्यटक तथा पाहुनालाई स्वागत गर्न गीत बनाएको पुनले बताउनुभयो । उहाँले म्युजीक भिडीयो र गीत बर्षौ पछिसम्मका लागि पनि ईतिहाँस तथा अभिलेखको रुपमा रहने बताउनुभयो ।

यसअघि नांगी स्थित हिमाञ्चल माविका शिक्षक कृष्ण पुर्जाले स्वर्गजस्तै देखिने मेरो नागी गाउँ बोलको गित रेकर्ड गर्नुभएको थियो । पुर्जा र पुनका तिन वटा गितको म्युजीक भिडीयो कात्तिकमा छायांकन हुदैछ ।

पाँच वर्षअघि सञ्चारकर्मी समेत रहनुभएका अमित विश्वकर्मा र कमल बानियाँले म्याग्दीका प्रमुख पर्यटकीय स्थलहरुको बारेमा लोकगित तयार पारेपछि गाउँको बारेमा गीत लेख्ने, गाउँने क्रम बढेको

अघिल्लो पुस्ताका कलाकार मना छन्त्याल र टिकाबहादुर श्रेष्ठको “बेनीको बजार, जता माया उतै छ नजर…..” बोलको गीतले म्याग्दी सदरमुकाम बेनीलाई चिनाउने सांगितीक कोशेली बनेको छ । हर्क पाईजाले शिख देउराली, धनकुमारी थापाले चिमखोला, खड्ग गर्बुजाले पाखापानी, सोले डाँडा, गलेश्वर लगायतका ठाउँका विषयमा लोक गित गाउनुभएको थियो ।


पछिल्लो समय आधुनीक लोक शैलीका गीत र म्युजीक भिडीयो बनाइएका छन् । अन्नपूर्ण र निलगिरी हिमालको फेदी, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना लगायतका पर्यटकीय स्थल रहेको दाना गाविसको विषयमा दुई वर्षअघि जापानमा रहेका कृष्ण तुलाचनले हाम्रो दाना गाउँ बोलको गीत तयार गर्नुभएको थियो ।

मगर समुदायको बसोबास रहेको चिमखोला गाउँको विषयमा हेल्पिीङ डिसेबल ईन चिमखोला भन्ने संस्थाले “चिमखोला मेरो….” भन्ने गीत र म्युजीक भिडीयो बनाएको छ । हिमशृङखला, सुर्योदय र गुराँसे जंगलको दृष्यअवलोकनका लागि प्रसिद्ध पर्यटकीय स्थल घारको घोडेपानी, पुनहिल र कुहुँको टोड्को प्राकृतिक सौन्दर्यताको विषयमा पनि गीत बनेको छ ।
चिनबहादुर पुर्जा पुन र गीता पाईजा पुनले म्याग्दीका साथै धौलागिरीका प्रमुख धार्मीक र पर्यटकीय स्थललाई समेटेर “मेरो प्यारो यो धौलागिरी” भन्ने गीत र म्युजीक भिडीयो तयार गर्नुभएको छ । चिनबहादुर पुर्जा पुनको समूहले करबाकेली र काफलडाँडा गाउँको विषयमा पनि गीत बनाएका छन् ।

बिम, बेगखोला गाविसको साथै दरवाङको दुखु गाउँको पनि गीत बनेको छ । गीत लेखन, गायन र अभिनयमा स्थानीय कलाकारहरुको संलग्नता रहेको छ । जसको माध्यमबाट कलाकारहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर समेत पाएका छन् ।

गाउँको विषयमा गीत र म्युजीक भिडीयो बनाउने चलन छिमेकी जिल्ला कास्कीबाट सुरुवात भएको मानिन्छ । कास्कीका पर्यटकीय स्थलहरु घान्द्रुक, सिक्लेस, धम्पुस लगायतको विषयमा दशक अघिनै गीतहरु बनेका थिए ।