नयाँ शक्तिका लागि नेपालीभूमी उर्वर छ

Amar-Ghimire अमर घिमिरे

अन्धभक्ति वा विरोध नेपाली राजनीतिको प्राणघातक रोग रहिआएको परिस्थितिमा ‘नयाँ शक्ति’ को बहस पनि  व्यक्तिगत स्तुतिगान वा लाञ्छना भन्दा बाहिर निस्कन नसकेको बोध भइरहेको छ ।

आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न विविध साना-ठूला समुहहरू क्रियाशील रहेको भए पनि संभवतः व्यक्तित्व र राजनीतिक उचाइका कारण त्यस्तो शक्ति भनेकै ‘बाबुराम भट्टराईले निर्माण गर्न लागेको पार्टी’ भनेर छलफल गर्ने गरिएको छ । जे होस् यो छलफलबाट सम्भावित ‘नयाँ शक्ति’ हरूले मात्र नभई पुराना पार्टीहरूले पनि परिवर्तित माग अनुसार आन्तरिक ‘कोर्स करेक्सन’ गरी फाइदा उठाउन सक्ने भएकाले यस्तो बहसमा जनसहभागिताको विस्तारिकरणले कसैको स्वास्थ्य नबिगार्नु पर्ने हो ।

नेपाली जनताको अपेक्षा एवम् बिग्रँदै गरेको राजनीतिक संस्कारमा आमूल परिवर्तनको आवश्यकतालाई थोरै नै भए पनि उजागर गरेर डा. भट्टराई लगायत सम्पूर्ण राजनीतिक नेतृत्वलाई सुझावका रूपमा यो आलेख तयार गरिएको छ ।

नैतिक पत्रः

नेपालमा राजनीति अनेक तिकडम र जालुसाजीले भरिएको भएता पनि नयाँ परिप्रेक्षमा त्यस्ता प्रवृत्तिले राष्ट्रलाई मात्र हैन स्वयम् उक्त दल र नेतृत्वलाई पनि हानी हुने निश्चित प्रायः छ । हाम्रो राष्ट्र अहिलेको विकास एवम् प्रगतीको दौडमा पुच्छा हुनुमा पनि विशेषतः अनैतिक नेतृत्व नै जिम्मेवार छ भन्ने जनताले पनि स्पष्टः बुझिसकेको हुनुपर्दछ । त्यसैले उच्च नैतिक धरातल भएका व्यक्तिहरूले नेतृत्व गरेको शक्तिले मात्र सम्पूर्ण नेपालीको मन जित्न सक्छ ।

ठूलो पार्टी बन्ने होडमा माओवादीद्वारा भित्र्याइएका ‘गुण्डा’ र ‘मुन्द्रे’हरूले उक्त पार्टीलाई कस्तो नियती भोग्न अभिषप्त पारे भन्ने छर्लङ्ग भइसकेको हुँदा पार्टी सदस्यता वितरणदेखि आन्तरिक चुनावमा मनोनयन दर्ता गर्न पनि व्यक्तिको नैतिक योग्यताको मापदण्ड निर्धारण गर्न अति अनिवार्य छ ।

त्यस्तो ढोकाबाट पार हुनेलाई मात्र क्षमतानुसारको जिम्मेवारी दिने हो भने एकातिर पार्टी उच्च नैतिक पूँजी सहितको आदर्श संस्था बन्छ भने अर्कोतिर असल नियतहरूको योगफलबाट पार्टी र सिङ्गो राष्ट्रले फाइदै-फाइदा ग्रहण गर्नेछ । आर्थिक अनुशासन, कुनै न कुनै श्रम प्रतिको आबद्धता, उच्च सामुहिक भावना भएको व्यक्तिहरूको सत्संग हुने वित्तिकै चुम्बकीय विशेषता अनुरुप नै त्यो शक्ति असल नियत भएका योग्य नागरिकहरूको संगम बन्न सक्छ ।

जनताका लागि पार्टी सदस्य, पार्टी सदस्यहरूका निम्ति तल्लो कमिटीका पदाधिकारी र तल्लो निकायका लागि उच्च नेतृत्वले आदर्श प्रेरणास्रोतको काम गर्न सक्दैन भने कुनै पनि पार्टी नयाँ हुनै सक्दैन र त्यसको बौद्धिक र हस्तक्षेपकारी प्रभाव उल्टै नकारात्मक हुन जान्छ ।
राजनीति कमाउने वा शक्ति प्रदर्शनको मैदान हैन, समाज विकासको पवित्र आन्दोलन हो भन्ने कुरा हरेक कोणबाट पार्टी जीवनमा प्रतिविम्बित हुनु अनिवार्य छ । झट्ट सुन्दा निकै अप्ठेरो लागे पनि अनुशासनसँग सम्बन्धित छुट्टै निकायको व्यवस्था गरि त्यस्तो नियमन पनि सजिलै गर्न सकिन्छ, जसका बारेमा पुनः चर्चा गरिनेछ ।

सांगठनिक पत्रः

जसरी प्राणीको शरीरमा विकृत रगत भएमा सम्पूर्ण कार्यसम्पादन नै अवरुद्ध हुन पुग्छ, ठिक त्यसैगरी पार्टी र भातृ संगठनहरूमा विधि स्थापित नहुँदा पूरै आन्तरिक प्रणाली निकम्मा हुन्छ । म फलानो पार्टीमा छु भनेर गौरव गर्न सकिन्छ’ भन्ने आशा मात्रै पलाए पनि नयाँ राजनीतिक अभियानमा कर्मठ युवाहरूको थामिनसक्नु भीड लाग्नेछ । नेपालको समस्या भनेको जनशक्तिको नभई इच्छाशक्तिको अभाव हो । राजनीतिमा चेतनशील बौद्धिक वर्गको इच्छा नहुनको प्रमुख कारण चाँही त्यसभित्र विद्यमान विकृतिहरू हुन् भन्ने सबैलाई छर्लङ्गै हुनुपर्दछ ।

अब नयाँ बन्ने शक्तिका हरेक निकायमा बहस सहितको निर्वाचित केन्दि्रयता हुनुपर्दछ । तल्लो तहबाट माथिल्लो समिति निर्वाचित हुने तर हरेक घुम्ती एवम् मोडहरूमा सामुहिक बहस अन्तक्रिर्या एवम् सकारात्मक (आत्म) आलोचना सहितको निर्णय प्रकृया अपनाउनु पर्दछ । निर्वाचित भएको व्यक्ति नेता त हो तर तानाशाह हैन भन्ने सोचको प्रार्दुभाव जरुरी छ ।

पार्टीमा आउन उच्छुक जो कसैलाई परिक्षणपछि स्वागत गर्ने र आन्तरीक पार्टी जीवनमा पद अनुसार जिम्मेवारीको समयानुकुल परिक्षा गर्न छुट्टै अनुशासन समिती बोकेका युवाहरूलाई नेतृत्वमा निर्वाचित गरेर साठी वर्ष नाघेका डा.भट्टराई जस्ता अनुभवी नेताहरू माथिल्लो मर्यादाक्रमको अनुशासन समितिमा बसेर आवश्यक सुझाव-सल्लाह दिने र न्यायधिशको भूमिका निर्वाह गर्नु नै पार्टीको चुस्तता, सन्तुलन एवम् सांगठनिक आदर्श जोगाउने ब्रम्हास्त्र हुनसक्छ । पार्टी जीवनमा आइलाग्ने समस्याहरू एवम् निरन्तर अनुगमन र नियमन गर्ने सम्पूर्ण अधिकार प्राप्त गर्ने उक्त संगठनात्मक प्रणालीको प्रत्येक तहमा सुनिश्चितता हुनुपर्दछ ।

पुरानो पिढी परिक्षित भइसकेको पृष्ठभूमीमा संगठनको निणर्ायक स्थानमा यूवाहरूको व्यापक सहभागिताले मात्र पार्टीलाई नविनता र अतुलनीय सक्रियता प्रदान गर्न सक्दछ भने समावेशीता त इन्कारै गर्न नसकिने गहना भइनै हाल्यो ।

नीतिगत पत्रः

हाम्रो देशमा पार्टीहरूको नीतिगत हैन व्यवहारिक कुशलता मात्र भए हुन्छ भन्ने गरिन्छ । तथापि नागरिक सचेतताको यो विशिष्ट कालमा नीतिगत स्पष्टता बेगर बौद्धिक वर्ग सम्मिलित हुन गाह्रो मान्नेछ । हाम्रो जस्तो राजनैतिक परिदृष्यमा ‘स्कूल अफ थट’ फरक-फरक रहेको व्यक्तिहरूको संगठन निर्माण अति नै गंजागोल, अकर्मण्य र चुनौतिपूर्ण हुन सक्छ ।

उदाहरणका लागि वर्तमान राष्ट्रिय समस्या समाधान गर्ने विषयमा पनि दुई प्रतिध्रुवको संस्कारजन्य वहसहरू छताछुल्ल बाहिर आएका हुन् । बाबुराम भट्टराई जस्तो नेतृत्वलाई माक्र्सवाद वा समाजवाद छाड्दा आँफैले कमाण्ड गरेको जनयुद्ध एवम् हजारौं बलिदानप्रति अपनत्व ग्रहण नगरेको आरोप स्वभाविक रुपमै लाग्न सक्छ भने पूँजीवादी चिन्तन राख्ने नागरिकहरूलाई पनि समेटेर बृहद शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ ।

पूर्व माओवादी नेता-कार्यकर्ताहरूको विशेष सहभागीता हुने अपेक्षा गरिएको उनको शक्तिले नेपाल सुहाउँदो समाजवादी मोडेलमा पँूजीवाद पक्षधारहरूलाई ‘कन्भिन्स’ गर्दै पुँजीवादका केहि विशेषताका आधारमा आर्थिक सम्बृद्धिको दीर्घकालिन रणनीति बनाउन सक्नेछ । यस्तो गर्दा सिद्धान्तनिष्ठ कम्यूनिष्ट एवम् विकासप्रेमी व्यक्तित्वहरूको राम्रो संगम हुन सक्छ । स्पष्ट आर्जनको भरपर्दो पार्टी नीति जनतामा आकर्षण बढाउन फलदायी सावित हुनेछ ।

कार्यनैतिक पक्षः

चुस्त र सफल पार्टी निर्माणका लागि राम्रो दीर्घकालिन नीति एवम् सोही योजनाको सेवा गर्ने कार्यनीतिको अपरिहार्यता रहन्छ । विगतमा माओवादी पार्टीका नीति निर्माताका रुपमा जनमानसमा परिचित डा. भट्टराईलाई त सायद रणनीति एवम् कार्यनीति तर्जुमा गर्न गाह्रो नहोला । पारदर्शी एवम् जनताप्रति उत्तरदायी नहुने जस्तोसुकै नितीले पनि अब राष्ट्रको सेवा गर्न सक्दैन । जुनसुकै नयाँ बन्ने शक्तिले पनि जनताले अनुभूत गर्ने गरी परिवर्तनकारी कार्यक्रमहरूको तर्जुमा गर्नुपर्छ ।

समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न चोक-चोकमा चियागफ र आˆनो व्यक्तिगत कामलाई व्यवस्थापन गरेर प्रत्येक पार्टी सदस्य महिनाको एक दिन सामूहिक श्रममा जोडिनुपर्ने र सोही प्रकारका कार्यक्रमहरूबाट नमूना परियोजनाहरूका साथै पार्टीको आयस्रोतको पनि यथोचित व्यवस्था हुनेछ ।

पार्टीका कार्यक्रमहरू विपन्न वर्गीय जनताको जीवनस्तर उकास्न केन्दि्रत गर्ने, जनताका बिच रवरभन्दा लचिलो र विनम्रता अनि पार्टीभित्र फलाम जस्तै कडा तर सिर्जनशिल बहस सहितको अनुशासन, गलत प्रवृत्तिको निषेध/निष्कासन, समयानुकुल पारदर्शीता, सांगठनिक जिम्मेवारीहरूमा एक व्यक्ति एक पद एक कार्यकालको व्यवस्था जस्ता कार्यनीतिहरू अवलम्बन गर्नुका जुनसुकै राजनीतिक पार्टीको सफलताको सुत्र हुन सक्छ । विशेषतः नीति निर्माण गर्ने नेतृत्वले के स्पष्टः बुझोस् भने असल भएपछि राजनीतिक रुपमा सफल अवश्य भइनेछ ।

अन्तमाः

जनताका छोराछोरीलाई लठैत बनाएर आफ्नो व्यक्तिगत स्वर्ग निर्माण गर्ने निकृष्ट राजनैतिक कुसंस्कारको विकल्पमा समानता र समावेशीता सहितको विशिष्ट सामाजिक जिम्मेवारी बोक्न तयार नयाँ शक्तिका लागि नेपालीभूमी अझै उर्वर छ । प्रत्येक तह र तप्कामा यूवा एवम् अन्य वर्ग, लिङ्ग, समुदायको यथेष्ट भूमिका रहने र समाजमा छुट्टै नैतिक उदाउने तयार नयाँ शक्तिलाई शुभकामना