खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ साउन ।
मृगौलामा पत्थरी परेर बिरामी भएका बेनी नगरपालिका ४ खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

खबरा घर भई हाल बहराईनमा कार्यरत भरत रत्नको पहलमा म्याग्दी उद्धार सहयोग समिति बहराईन मार्फत २८ हजार ४४६ रुपैयाँ सहयोग प्राप्त भएको हो । भरत रत्नका बुवा वुद्धविर रत्न र समन्वयकर्ता धु्रब कार्कीले बुधबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनबाट पठाइएको रकम हस्तान्तरण गर्नुभएको थियो ।DSC01998

बिरामी नरबहादुर र उहाँकी श्रिमती माया नेपालीको समेत उपस्थितीमा कोषका संस्थापक अध्यक्ष चन्द्र केसी, सचिव लोकेश पुन र कोषाध्यक्ष खम थापामगरलाई हस्तान्तरण गरिएको उक्त रकम कोष मार्फत नरबहादुरको औषधि उपचारमा खर्च गरिने जनाइएको छ ।
नरबहादुरको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरेको कोषले हालसम्म कोषमार्फत ५५ हजार रुपैयाँ खर्च भएको छ । ज्यामरुककोट समाजले दश हजार सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका, मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका नरबहादुरको मणिपाल शिक्षण अस्पताल पोखरामा अप्रेशनपछि हाल चिकित्सकको निगरानीमा उपचार गराइरहेका छन् ।