मुटुरोगी बालकको उपचारका लागि प्रवासबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ जेठ ।
बेनी नगरपालीका १ रत्नेचौरका ९ वर्षिय नविन थापा मगरलाई मुटुरोगको उपचारका लागि प्रवासीले बुधबार करिब एक लाख रुपैया नगद सहयोग गरेका छन् ।
थापाको मुटुमा परेको प्वालको शल्यक्रिया गर्नका लागी आर्थिक स्रोत जुटाउन ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा प्रवासी म्याग्देली नेपाली संघ (मोना) हङकङले ९५ हजार ३९५ रुपैयाँ सहयोग गरेको हो ।Shanti Kos Ko Help (2)

मोना हङकङका अध्यक्ष इन्द्र एलजी थापाको पहलमा संकलन भएको रकम थापाका आफन्त भिमबहादुर थापाले मंगलबार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो । कक्षा ५ मा अध्ययन गर्ने थापाका अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले कोषले शल्यक्रियाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको हो ।

हालसम्म कोषले थापाको उपचारका लागि दुई लाख जुटाइएको छ । आगामी असार ८ गते थापाको शल्यक्रिया गर्ने तयारी भएको छ । शल्यक्रियाका लागि चार लाख रुपैया आवश्यक पर्ने नविनका बुवा पविराम थापाले बताउनुभयो ।

थापाको उपचारका लागि आर्थिक संकलन गर्न कोषले सन्तोष रावलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ । यसैगरी ओमकुमारी शान्ति कोषले गलेश्वर वृद्धाश्रममा आश्रीत परमानन्द गिरीलाई आँखाको शल्यक्रिया गर्न बुधबार दश हजार रुपैयाँ सहयोग गरेको छ ।