ताजा समाचार:
Search

म्याग्दीको विकासमा प्रवासीको योगदान

सन्तोष गौतम,ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज
म्याग्दी,बैशाख २ गते ।
विभिन्न कारणले बिदेशिन पुगेका म्याग्दीका प्रवासीहरु परोपकारी काममा अग्रसर भएका छन् । सात समुन्द्रपारीका देशमा श्रम, पसिना बेचेर कमाएको पैसा प्रवासी म्याग्देलीहरुले जिल्लाको सामाजिक एवम भौतिक पूर्वाधारको विकासमा लगाउन थालेका हुन् ।

व्यक्तिगत र संस्थागत रुपमा प्रवासीबाट म्याग्दीको शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा करोडौ नगद लगानी भएको छ । रोजगारी, अध्ययन, पेशा, व्यवसायको शिलशिलामा युरोप, खाडी र दक्षिण एशियाका विभिन्न देशमा पुगेकाहरुले गाउँका विद्यालयको स्तरउन्नती गर्न, गाउँ बस्तीमा सडक खनेर गाडी गुडाउन, भवन, पुल बनाउन मात्र नभई गरिबीका कारण उपचार गर्न नसकेका र प्राकृतिक प्रकोपबाट प्रभावित भएकाहरुलाई नगद जुटाएर सहयोग प्रदान गरेका छन् ।
एम्बुलेन्स सेवा
म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले वि.स २०६९ मा नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखालाई तिन वटा एम्बुलेन्स सहयोग गरेपछि भौगोलिक रुपमा बिकट र दुर्गम बस्तीका बासिन्दालाई सहज र सर्बसुलभ रुपमा स्वास्थ्य उपचार सुबिधा प्राप्त गर्न सहज भएको छ ।

पश्चिमी, उत्तरी र सदरमुकाम भेगका बासिन्दालाई सेवा दिइरहेका तिन वटा एम्बुलेन्सको मर्मत, सम्भार एवं सेवाको निरन्तरताका लागि उक्त संस्थाले १० लाख ८० हजार २८० रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ ।Mona Ko Suchana Ko lagi Photo (10)

‘बाध्यताले भौगोलिक रुपमा टाढा बनाएपनि आफ्नो जन्मभुमिलाई बिर्सन सकिदो रहेनछ’ म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतका पुर्व अध्यक्ष योगकुमार फगामी भन्नुहुन्छ ‘चामलको गुन पिठोले तिरौ भन्ने भावनाले प्रवासमा भएपनि गाउँ, ठाउँ र जिल्लाबासीको सेवा गर्न अग्रसर भएका हौ ।’

बेलायतसंगै बेल्जीयम, हङकङ, दक्षिण कोरीया, कतार, जापान लगायतका देशमा रहेका मोना र म्याग्दी सेवा समाज मार्फत संस्थागत तथा अन्य देशबाट व्यक्तिगत रुपमा सामाजिक कामका लागि नगद भित्र्ने गरेको छ ।
स्रोत कक्षा सञ्चालन गर्न अक्षयकोष

अपाङ्गता भएका म्याग्दीका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि पनि प्रवासीहरुले सहयोग गरेका छन् । म्याग्दीमा सञ्चालित तिन वटा अपाङ्गता भएका बालबालिकाहरुले अध्ययन गर्ने स्रोत कक्षा सञ्चालनका लागि म्याग्देली प्रवासी नेपाली संघ (मोना) हङकङले वि.स २०७० मा ३३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।

११/११ लाख रुपैयाँको अक्षयकोषको ब्याज धौलागिरी मावि सिंगाको बहिरा, ज्ञानोदय मावि मौवाफाँटको दृष्टिवीहिन र बालजागृती प्राबिको बौद्धिक अपाङ्गता स्रोतका बालबालिकाको शिक्षा, खानपान, आवास व्यवस्थापन, शिक्षकको तलब भत्ता, खेलकुद र शैक्षिक सामाग्री खरिदमा खर्च हुने गरेको छ ।brelipi help photo

सरकारी निकायबाट पर्याप्त सहयोग नहुने र दिगो स्रोत अभावमा संकटमा परेका स्रोत कक्षाहरुलाई अक्षयकोष स्थापना भएपछि राहत मिलेको ज्ञानोदय माविको दृष्टिविहीन स्रोत कक्षा व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द सुवेदी बताउँछन् ।

मौवाफाँटको दृष्टिवीहीन स्रोत कक्षालाई मोना बेल्जियमले पनि वि.स २०७० बैशाखमा चार लाख रुपैयाँ सहयोग गरेको थियो । तिन वटा स्रोत कक्षामा अपाङ्गता भएका ५० जना भन्दा बढी बालबालिकाले आफ्नो शारिरीक क्षमत्ता अनुकुलको वातावरणमा शिक्षा आर्जन गरिरहेका छन् ।
शैक्षिक विकासमा प्रवासी
कम्प्युटर विषयको पठनपाठन सुरु गरेको झिँको महेन्द्र मावि र पात्लेखेतको विद्योदय निमावीलाई उक्त कार्यमा प्रवासीको अगुवाईमा २०/२० लाख रुपैयाँ सहयोग जुटेको छ ।
मावि र निमावी तहमा कम्प्युटर विषयको अध्यापन गराइरहेको शिख उच्च माविलाई अमेरीकामा रहेका पुर्व विद्यार्थी तिलक पाइजाले १५ थान ल्यापटप र १६ लाख रुपैयाँ खर्च गरेर सौर्य उर्जा जडान गरेका छन् ।

बेल्जीयममा रहेका म्याग्देलीहरुको पहलमा विकास बेल्जीयम नेपाल एशोसीयसनको ८० लाख रुपैयाँ भन्दा बढी सहयोगमा ताकम माविको कक्षा कोठा भवन निर्माण भएको छ । बेलायत सरकारले प्रदान गर्ने उच्च सैनिक पदावी भिक्टोरीया क्रस (भिसी) बाट सम्मानित स्वर्गीय तुलबहादुर पुनको स्मृतीमा उहाँको जन्मस्थल बेगको तिप्ल्याङ स्थित कालीका निमावीमा कक्षा कोठा भवन निर्माण भएको छ ।histan school

बेलायती अभिनेत्री जोहोना लुम्लीको नेतृत्वमा ५० लाख रुपैयाँ जुटाएर वि.स २०६९ मा कक्षा कोठा भवन निर्माण भएको थियो । उत्तरी क्षेत्रको दानामा रहेको ज्ञानप्रकाश उच्च मावि सञ्चालनका लागि दाना सेरोफेरा समाज युकेले गत असोजमा बेलायतमा सांस्कृतीक कार्यक्रम मार्फत १५ लाख रुपैयाँ जुटाएर सहयोग गरेको छ ।

दाना सेरोफेरा युकेले उक्त विद्यालयमा यसअघि खेलमैदान निर्माण गर्न पनि सहयोग गरेको थियो । गाउँका सरकारी दरबन्दि नभएका तह थप भएका विद्यालयका निजी स्रोतका शिक्षकलाई तलब जुटाउने मुख्य आधार बिदेशमा रहेका लाहुरेहरुनै हुन ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार वार्षिक एक करोड रुपैयाँको हाराहारीमा सामुदायीक विद्यालयहरुमा समुदायको आर्थिक लगानी भएको देखिन्छ । विद्यालयहरुले बिदा अथवा सेवाअवधि सकेर घर फर्कीएका लाहुरेहरुलाई गीत तथा नृत्य देखाई स्वागत गरेर चन्दा सहयोग जुटाउने गरेका छन् ।

दाना गाविस ३ का कमल पुर्जाले पछिल्लो चार वर्षयता म्याग्दीका ७ वटा विद्यालयलाई व्यक्तिगत रुपमा आठ लाख रुपैयाँ भन्दा बढी सहयोग गरिसक्नुभएको छ । शारीरिक रुपमा अशक्त पुर्जाले शिक्षा हाँसील गर्न आफूले जस्तो अहिलेका बालबालिकाले दःुख र असुबिधा नपाउन भनेर सहयोग गरेको बताए । यस्तै हालैमात्र बेनी नगरपालीका ९ काउलेगौडामा जन्मिएका ४८ वर्षिय भोजबहादुर बानियाँले गाउँमा विद्यालय भवन बनाइदिएका छन् । Photo Of Bhoj Bahadur Baneaya Photo By Harikrishna Gautam
यसै गरि पछिल्लोपटक शैक्षिक विकासका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) वेल्जियमले आर्थिक सहयोग उपलब्ध गराएको छ । मोनाले भूकम्पबाट क्षती भएका जिल्लाका ग्रामिण भेगमा रहेका चार सामुदायिक विद्यालयलाई तिनलाख रुपियाँ सहयोग गरेको हो ।help school 1

ज्ञानप्रकाश उच्च माविमा एक करोड २५ लाखको अक्षयकोष
म्याग्दीको उत्तरी क्षेत्र दानाका प्रवासीहरुले गत जेठमाउच्च मावि सञ्चालन गर्नका लागि एक करोड २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । आफ्ना छोराछोरीलाई गाउँमै उच्च शिक्षा हाँसील गर्ने अवसर जुटाउन दानाका बासिन्दा र विश्वका विभिन्न देशमा रहेका दानाबासीहरुले ज्ञानप्रकाश उच्च माविको शिक्षा विकास अक्षयकोषमा एक करोड २५ लाख रुपैयाँ जम्मा गरेका हुन् ।dana school help

दाना घर भई हाल बेलायतमा रहेकाहरुको पहलमा अक्षयकोषमा एक करोड १५ लाख रुपैयाँ र गत जेठमा सञ्चालित भुमे पुजा मेला २०७२ मार्फत १० लाख रुपैयाँ बचत भई कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग जुटेको विद्यालयले जनाएको छ ।

बचत भएको रकमको ब्याज ज्ञान प्रकाश उच्च माविका शिक्षकहरुको तलबभत्ता, गरिब विपन्न विद्यार्थीलाई छात्रवृती सहयोगका लागि परिचालन गरीने भएको छ ।

दिगो आर्थिक स्रोतको अभावमा उच्च मावि सञ्चालन गर्न समस्या भएपछि देश बिदेशबाट सहयोग जुटाउन शिक्षा विकास अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर पुर्जाले बताए ।

स्वास्थ्यमा पूर्वाधार उपहार
शिक्षासंगै म्याग्दीको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन प्रवासीहरुले पूर्वाधार उपहार दिएका छन् । सदरमुकाम बेनीको जिल्ला अस्पतालमा प्रवासीहरुको सहयोगमा बिरामी कुरुवा, रक्तसञ्चार गृह र आकस्मीक कक्ष भवनको निर्माण भएको छ । कोरीयामा रहेका म्याग्देलीहरुको पहलमा २१ लाख रुपैयाँ लगानीमा वि.स २०७० मा आकस्मिक उपचार कक्षको भवन निर्माण भएको थियो ।  यसै गरि मोना हङकङद्धारा म्याग्दी अस्पताललाई डिजिटल एक्सरे मेशिन सहयोग भएको छ । प्रवासीहरुले मेशिन दिगोरुपमा सञ्चालन गर्नका लागि अक्ष्यकोष समेत स्थापना गरेका छन् । 12249868_941419142562581_130304567229080200_n

यसअघि बेल्जीयमको बिकास बेल्जीयम नेपाल एशोसीयनको सहयोगमा रक्तसञ्चारगृह र म्याग्दी सेवा समाज कतारको सहयोगमा बिरामी कुरुवा भवन निर्माण भएको थियो । हिस्तान गाबिस ५ टिकोटमा टेलीमेडिसीन सुबिधा सहितको सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न पुर्व गोर्खा सैनीक चन्द्रबहादुर पुनले २१ लाख रुपैयाँ सहयोग गरेका छन् ।tikot helth photo

 

केन्द्र सञ्चालनका लागि २०७१ बैशाखमा अक्षयकोष स्थापना गरेका पुनले टिकोट माविको भवन निर्माण गर्न व्यक्तिगत रुपमा थप १८ लाख रुपैयाँ पनि सहयोग गरेको प्रअ प्रदीप पुनले जानकारी दिए । IMG_0007
पूर्वाधारमा पनि लगानी
शान्ति स्थापनासंगै म्याग्दीमा तिब्रता पाएको ग्रामिण सडक बिस्तारको अभियानमा चन्दा सहयोग गरेर साथ दिनेमा प्रवासीहरुनै अगाडी देखिन्छन् । उपभोक्ता समिति मार्फत निर्माण गरिएका धेरै जसो ग्रामिण सडकमा बिदेशमा रहेकाहरुबाट भएको सहयोगनै बढी छ ।

दरवाङ–ताकम, खारा–बिम, महभिर–टिकोट–राम्चे, बाबियाचौर–अर्मन किमचौर, दरवाङ–ओखरबोट–तमान, दूधेखोला–भकिम्ली लगायत स्थानीयबासीले चन्दा संकलन गरेर निर्माण गरेको ग्रामिण सडकमा प्रवासीहरुले करोडौ लगानी गरेका छन् ।

बेलायतमा रहेका बेगबासीहरुको सक्रियतामा वि.स २०७० मा बेग गाविसमा एक करोड रुपैयाँ खर्च गरेर भिसी तुलबहादुर पुनको स्मृतीमा दुई वटा कृषि सडक योजना निर्माण भएको उक्त गाविसका सचिव चित्रनाथ शर्माले जानकारी दिए ।

यसैगरी बि.स २०६९ मा विश्वका विभिन्न स्थानमा रहेका मगर समुदायले एक करोड रुपैयाँ भन्दा बढी नगद संकलन गरेर राम्चेको काफलडाँडालाई धार्मीक पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले पुन मगरहरुको कुल देवता करबाकेली मन्दिरको निर्माण गरेका छन् ।

karbakali mandir
बेग देखि चिमखोला गाविस जोड्ने १८ किलोमिटर कच्चि सडकको ट्याक खोल्न बिदेशमा रहेका चिमखोलाबासीहरुले ४५ लाख ८१ हजार ६३१ रुपैयाँ सहयोग गरेका छन् । सडक निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर खातीका अनुसार गाविस, जिविस र स्थानीयबासीको सहयोग रहेको एक करोड २५ लाख रुपैयाँ खर्च भएको योजनामा सबैभन्दा बढी लगानी गर्नेमा बिदेशमा रहेका चिमखोलाबासी हुन् ।

बेनी नगरपालीका ९ गलेश्वरमा एनआरएन बेलायतको लगानीमा वृद्धाश्रम भवन निर्माण सम्पन्न भएको छ । उक्त भवन निर्माणका लागि एनआरएन बेलायतले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । यसै गरि हाल पोखरा नदीपुर बस्नुहुने रेशम पुन र बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनले आफ्नो जन्मगाउँ ताकममा  नौ लाख रुपैयाको लगानीमा सडक र सामुदायिक भवन निर्माण गर्नुभएको हो ।   DSC00106(1)
इन्टरनेट विस्तारमा सहयोग गर्देmona help samjuta photo
जिल्लाका ग्रामिण भेगमा इन्टरनेट विस्तारका लागि प्रवासी म्याग्देलीहरुले सहयोग जुटाउन थालेका छन् । असोजमा सम्पन्न प्रवासी म्याग्देलीहरुको विश्वसम्मेलनबाट पारित भएको योजनालाई अहिले सम्पन्न गर्न प्रवासीहरु जुटेका छन् । इन्टरनेट विस्ताका लागि एकमहिना अगाडी जिल्ला विकास समिति र मोना आइइसीका अध्यक्ष योगेन्द्र क्षत्री विच सम्झौता भएको हो । प्रवासीहरुले जिल्लामा इन्टरनेट विस्तारका लागि करिवा एककरोड भन्दा वढि रकम संकलन गर्ने छन् ।
दःुखमा मल्हम लगाउँदै
म्याग्दीमा पहिरो, आगलागी अथवा दुर्घटनाका कारण कसैको बिचल्ली भएको तथा गरिबीका कारण उपचार गर्न नसकेको अवस्थामा प्रवासीहरुले दुखमा मल्हम लगाउने काम गरेका छन् । कोही अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न म्याग्दीका प्रवासीहरु उदार छन् ।DSC09332

एक वर्षअघि हाईपो पलास्टीक एनिमिया रोगबाट पीडित सिंगा गाविस १ कि ओमकुमारी पुन (शान्ति) उपचारका लागि जिल्ला भित्र, देशका विभिन्न ठाउँ र प्रवासबाट ५३ लाख रुपैयाँ संकलन भयो । संकलित रकमले शान्तिको बोनम्यारो प्रत्यारोपण गरेर उपचार गरिएपनि बाँच्न सकिनन् । प्रवासीहरुले गरेको सहयोगले नै अहिले शान्ति कोषले सामाजिक काममा काम गर्ने आधार तयार भएको छ ।

२०७१ कात्तिक १ गते घर नजिकैको जंगलमा दाउरा काट्न गएका बेनी नगरपालीका ९ काउलेगौडाका दल पुरी, उनकी श्रीमती शिवा र छोरा आषिशको अरिङ्गालले चिलेर ज्यान गयो ।

अभिभावकको मृत्य भएपछि १६ वर्षिया जेनिसा, १४ वर्षिया तारा, १० वर्षिया लिला र ७ वर्षिया बिमला पुरी बेसाहारा भएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि उनिहरुका लागि सात लाख रुपैयाँ भन्दा बढी सहयोग मात्र जुटेन् शिक्षाको सुबिधा पनि पाए ।
काउलेगौडा युवा कल्वले चार बहिनीहरुको सयोगका लागि सञ्चालन गरेको अभियानमा अमेरीका, कतार, पोर्चुगल लगायत देशमा रहेका देखि स्थानीयले पनि मन खुलाएर सहयोग गरेका क्लबका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

संकलित रकम स्थानीय प्रशासनको रोहबरमा कोष बनाएर चार बहिनीको शिक्षा, लालनपालनमा खर्च गरिने छ । केही महिनाअघि दक्षिण कोरीयामा कार्यस्थलमै दुर्घटनामा परि म्याग्दी हिस्तान औलाका पंकज पुनको ज्यान गयो ।

पुनको निधन पश्चात उनको शवलाई घर पठाउन म्याग्दी समाज समिति दक्षिण कोरीयाले पहल गरेको थियो । समितिको नेतृत्वमा कोरीयामा पंकजका सहकर्मी र म्याग्देलीहरुले सात लाख ८० हजार रुपैयाँ संकलन गरि गत कात्तिकमा आमा प्रेमशोभा पुनलाई राहत स्वरुप हस्तान्तरण पनि गरेका थिए ।

ओमकुमारी, पुरी दिदीबहिनी र पंकज पुनको नाममा भएको सहयोग त उदाहरण मात्रै हुन् । यस्तो सहयोग म्याग्दीमा महिनामा दुई चार जनाका लागि भित्र्ने गरेको छ । छुट्टीको समयमा एक आपसमा भेला भई प्रवासमा म्याग्दीको विकास र समस्याको बारेमा छलफल गर्ने गरेका छन् ।Mona Ko Suchana Ko lagi Photo (7)

भोज लगायत अन्य अनावश्यक कार्यमा हुने खर्च नगर्ने, कलाकार बोलाएर सांस्कृतीक कार्यक्रम आयोजना गर्ने र चलचित्र प्रर्दशन गरेर प्रवासमा सहयोग जुटाउने गरिएको छ ।

म्याग्दीमा प्रवासबाट सहयोग भित्र्याउन सक्रिय रहदै  मोना आइइसीका  अध्यक्ष समेत रहेका योगेन्द्र क्षेत्री प्रवासीको सहयोगले कतिको जिवनमा परिवर्तन आएको, गाउँमा विकास भएको देख्दा गर्ब लाग्ने अनुभव सुनाउछन् ।

पछिल्लो तथ्याङ्क अनुसार म्याग्दीका १५ हजार जना भन्दा बढी व्यक्तिहरु रोजगार, अध्ययन र व्यवसायको लागि विश्वका विभिन्न देशमा पुगेका छन् । उनिहरु मार्फत एकै दिनमा एक करोड रुपैयाँको अनुपातमा रेमिटेन्स जिल्लामा भित्रीएको पाईन्छ ।

रेमिटेन्सको अधिकांश हिस्सा उपयोगमा खर्च भएको देखिएपनि गाउँका सामुदायिक विद्यालय, उच्च मावि चलाउन, सडक खन्न, बिजुली बाल्न, स्वास्थ्य उपचारका लागि पनि बिदेशीएकाहरुको योगदान छ । अझसम्म प्रवासबाट म्याग्दी जिल्लाको विकास र सामाजिक कामका लागि भित्रीएको सहयोग रकमको अभिलेख राख्ने काम भने हुन नसक्नु दःुखद मानिएको छ ।
प्रवासीहरुले गरेको सहयोगलाई पारदर्शी रुपमा लक्ष्य अनुसार सहि ठाउँमा परिचालन गर्नका लागि भने सबै वर्ग, क्षेत्र र समुदाय सचेत तथा सजक रहनुपर्ने देखिएको छ । यसो भएमा सहयोगीलाई प्रोत्साहन र दुरुपयोग गर्न खोज्नेलाई खवरदारी हुने थियो ।