जन्मगाउँमा लाखौ लगानीमा पूर्वाधार निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ बैशाख ।

म्याग्दीको ताकम गाविस ७ हिलापोखरीमा दुई व्यक्तिले लाखौ लगानीमा विकासका पुर्वाधार निर्माण गर्नुभएको छ ।

हाल पोखरा नदीपुर बस्नुहुने रेशम पुन र बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनले आफ्नो जन्मगाउँमा नौ लाख रुपैयाको लगानीमा सडक र सामुदायिक भवन निर्माण गर्नुभएको हो । DSC00106(1)
सिंगापुर प्रहरीको सेवानिवृत्त रहनुभएका रेशम पुन र उहाँकी श्रीमती बनीका पुनले व्यक्तिगत रुपमा तिन लाख रुपैया लगानी गरेर ताकम ३ बाट हिलापोखरी जोड्ने दुई किलोमिटर सडक निर्माण गर्नुभएको छ । DSC00067

उक्त सडक निर्माण गर्न हिलापोखरीमा जन्मनुभएकी हाल पोखरा निवासी मैतीमा फगामीले थप दश हजार रुपैया सहयोग गर्नुभएको थियो । उक्त सडकलाई पुनमार्ग नामाकरण गरिएको छ ।
यसैगरी रेशम पुन र हाल बेलायतमा कार्यरत दुर्गाबहादुर पुनको तिनतिन लाख रुपैया सहयोगमा स्थानीय बासिन्दाले श्रमदान गरेर हिलापोखरीमा सामुदायीक भवन निर्माण गरेका छन् । स्थानीय वुद्धशान्ति युवा कल्वको नेतृत्वमा निर्माण भएको सडक, भवन र जगन्नाथ प्राबि परिसरको खेलमैदानको बुधबार नयाँ वर्षको अवसर पारेर सांसद रेशमबहादुर बानिया र सहयोगदाताद्धयले उद्घाटन गर्नुभयो ।DSC00084

जिविसले सांसद विकास कोष मार्फत उपलब्ध गराएको एक लाख रुपैयाँ आर्थिक सहयोगसंगै स्थानीय बासीन्दा र कल्वको थप तिन लाख रुपैया बराबरको श्रमदान तथा चन्दा सहयोगमा एक सय मिटर लम्बाई र ४० मिटर चौडाई भएको खेलमैदान निर्माण गरिएको कल्वका सचिव रामजी मल्लले बताउनुभयो ।DSC00078

खेलमैदान र विद्यालय भवन निर्माण गर्न स्थानीय बासीन्दा कलानीधी सुवेदीले एक लाख बिस हजार रुपैया मूल्य बराबरको चार रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । उद्घाटन कार्यक्रममा सहभागि हुन जन्मगाउँ आउनुभएका दुर्गाबहादुर पुनले बाध्यताले सात समुन्द्रपारी पुगेपनि अनावश्यक खर्चलाई बचाएर गाउँको विकासमा सहयोग गरेको बताउनुभयो ।
अर्का चन्दादाता रेशम पुनले आफूहरु रोजगारीको लागि बिदेशीदा एक हप्ता सम्म हिडेर गाडी चढ्ने ठाउँसम्म पुगेको स्मरण गर्दै गाउँका बासिन्दाको सुबिधाका लागि सडक निर्माणका लागि सहयोग गरेको बताउनुभयो ।

ताकम गाविसको सबैभन्दा पिछडीएको बस्ती मानिने हिलापोखरीका बासिन्दाले यसअघि आफ्नै लगानीमा पेल्ट्रक सेटबाट विद्युत उत्पादन गरेर विद्युत सुबिधा उपभोग गरिरहेका छन् । हिलापोखरीमा ६० घरधुरीको बसोबास रहेको छ । उनिहरुले सामुदायीक पानीमिल पनि सञ्चालन गरेका छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद रेशम बानियाले स्थानीय बासीन्दामा एकता र ईच्छाशक्ति भएमा राज्यको न्युन सहयोगमा पनि ठूला ठुला विकास योजना सम्पन्न गर्न सकिने उदाहरण हिलापोखरीका बासन्दाले प्रस्तुत गरेका बताउनुभयो । कार्यक्रममा चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।