ताजा समाचार:
Search

रघुगंगाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना ः अत्यावश्यक बाहेकका सेवा बन्द

विकल्प न्यूज\बेनी
माघ ५ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरि गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरुमा भौतिक रुपमा गरिने पठनपाठनलाई १० दिन बन्द गरेको छ । कोरोनाको संक्रमणदर फैलदै गएकोले माघ ५ गतेदेखि १५ गतेसम्मका लागि भौतिक रुपमा गरिने पठनपाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

यसअघि ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको थियो । रघुगंगामा बुधवार सम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ जना रहेका छन्
गाउँपालिकाले सार्वजनिक अपिल जारी गर्दै घर बाहिर निस्कँदा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न आह्वान गरेको छ ।

समुदाय स्तरमा तपाईको मास्क खोई अभियान सञ्चालन गरिने र घरबाहिरबाट घर जाँदा सावुन पानीले हात हुने र धुन लगाउने लगायतका अभियान चलाइने गाउँपालिकाले जनाएको छ । त्यसेगरि २५ जना भन्दा बढी व्यक्तिहरु भेला हुने गरि कुनैपनि भेला तथा मेलाहरु गर्न रोक लगाउने, सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप कार्डलाई अनिवार्य गर्ने र कोरोना विरुद्धको खोप लगाउनबाट छुटेका लक्षित समुहका नागरिकलाई खोपको व्यवस्था गरिएकाले खोपको सुनिश्चित गरिने जनाइएको छ ।