भोली देखि १५ गते सम्म बेनी नगरका शैक्षिक संस्थाहरु बन्द

विकल्प न्यूज \ बेनी
माघ ५ गते ।

  

कोरोना संक्रमण बढे सँगै बेनी नगरपालिका भित्रका सवै विद्यालयहरु माघ ६ देखि १५ गते सम्मका लागि बन्द गरिने भएको छ । पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय भएको बेनी नगरपालिकाले जनाएको छ ।

वढदो कोरोनाको जोखिम लाई मध्यनजर गर्दै माघ ६ गते देखि बेनी नगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरु १५ गते (अर्को निर्णय नहुदा)सम्म बन्द हुने निर्णय भएको कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । बुधवार बसेको नगरस्तीय द्रुत प्रतिकार्यसमिति र विद्यालयका प्रधानाध्यापकहरु सँगको संयुक्त वैठकले नगर भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले बताउनुभयो ।

पूर्वनिर्धारित परिक्षा कार्यक्रम सञ्चालन गरेका विद्यालयहरुका हकमा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अवलम्बन गरी जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्ने तथा परिक्षा केन्द्रहरुमा मास्क र स्यानिटाइजरको प्रयोगलाई कडाईका साथ पालना गराउने निर्णय भएको सूचना अधिकारी थापाले बताउनुभयो ।

साथै वैठकले नगरभित्रका विभिन्न विद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुका लागि पूर्वनिर्धारित खोप कार्यक्रम जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी यथावत रुपमा सञ्चालन गर्ने निर्णय भएको छ ।
नगरपालिका भित्र अनिवार्य रुपमा खोप कार्ड ल्याएर मात्र सेवा लिन सर्वसाधरणहरुमा अनुरोध गरिएको छ ।