मतदाता नामावलीमा नाम दर्ता गर्न मंंगलामा सकस (फोटो फिचर)

विकल्प न्यूज/बेनी
पुस ८ गते ।

 

 मतदाता नामावलीमा नाम दर्ता गर्न मंगलाका सर्वसाधरणहरु राती सम्म बस्नुपरेको छ । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत मंगला गाउँपालिकामा बुधवार र विहिवार गाउँगाउँबाट आएका सर्वसाधरणहरुले नामावली दर्ता गर्न राती १० बजे सम्म बस्नुपरेको गुनासो गरेका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि गाउँपालिकामा विहानै देखि सर्वसाधरणहरुको निकै भिड लागेको थियो । बुधवार मात्र करिब चारसय भन्दा बढीले नाम दर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

विहानै देखि आएका सर्वसाधरणहरुले साँझ सम्म पनि पालो नआएको भन्दै गुनासो पोखेका थिए । सर्वसाधरणहरुको भिड भएपछि निर्वाचन कार्यालयबाट खटिएका कर्मचारीलाई गाउँपालिकाका कर्मचारीहरुले समेत अन्य काम छाडेर सघाएका थिए ।

निर्वाचन कार्यालय म्याग्दीले आवश्यकता अनुसारको जनशक्ति व्यवस्थापन नगरेका कारण गाउँगाउँबाट आएका सर्वसाधरणहरुले नाम दर्ता गर्न समय लाग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो ।

बुधवार गाउँगाउँबाट आएका सर्वसाधरणहरु राती सम्मनै बसेर नाम दर्ता गर्दा दुःख पाएकोले थप जनशक्ति व्यवस्थापन गरिदिन निर्वाचन कार्यालयलाई अनुरोध गरेपनि सुनुवाई नभएको उहाँले बताउनुभयो । मतदाता नामावलीमा छुट भएकाहरुका लागि निर्वाचन कार्यालयले पालिका कार्यालयमा शिविर राखी नामावली दर्ता गरिरहेको छ ।