वरीपरी हिउँले घेरिएको मुस्ताङको ढुम्बा ताल(फोटो कथा)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ
पुस ४ गते ।

 

वरीपरि रहेका निलगिरि हिमाल,धौलागिरि,मानापाथी लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट १५ मिनेटमा यहाँ पुग्न सकिन्छ । ताल सम्म पुग्नका लागि सडक निर्माण गरिएको छ ।

ढुम्बा तालमा पुग्ने पर्यटकले विहानीपख निलगिरि हिमालको टलक्क छायाँ देख्न सक्छन् । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । तालबाट देखिने जोमसोम बजारको सुन्दरता ।

पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्न थालेपछि ताल पर्यटनको केन्द्र बन्न थालेको हो । पर्यटक आउन थालेपछि ताल वरपर भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर एकआपसमा माया साटासाट गर्ने गर्दछन् । यातायात सञ्जाल सँग मुस्ताङ जोडिए सँगै पर्यटक आगमनमा वृद्धि भएको छ ।

उपल्लो मुस्ताङ,कोरला र मुक्तीनाथ पुग्ने अधिकांश पर्यटकहरु ढुम्बा ताल पुग्ने स्थानीय शुसिल थकालीले बताउनुभयो । समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ६० मिटर र चौडाइ एकसय ३० मिटर छ । १० मिटर गहिराई भएको ताललाई फन्को लगाउन १५ मिनेट लाग्छ ।