कांग्रेस म्याग्दीको आगमी नेतृत्वका लागि धमाधम उम्मेद्वारी घोषणा

विकल्प न्यूज/बेनी
कात्तिक २९ गते ।

 नेपाली कांग्रेस म्याग्दीको आगमी नेतृत्वका लागि नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । मंसिर १ गते (भोली) नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनलाई लक्षित गरी नेताहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका हुन ।

काँग्रेसको संस्थापन (खम्बिर गर्बुजा) र निवर्तमान सभापति रेशमबहादुर बानियाँ पक्षधरहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । दुवै पक्षले क्षेत्रीय प्रतिनिधिहरुलाई फोन,भेटघाट र म्यासेज मार्फत भोट माग्न थालिसकेका छन् । अधिवेशन नजिकिँदै गर्दा बजारमा राजनीतिक चहलपहल निकै बढेको छ । प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमितिमा नेताहरु सहमति गरेर टुंगाएपनि जिल्ला नेतृत्व भने कठिन देखिएको छ ।

सभापति पदमा भने अहिले सम्म कुनै पक्षले उम्मेदवारी घोषणा गरेका छैनन् । तर वर्तमान सभापति गर्बुजा नै सभापतिका लागि आकांक्षी हुनुहुन्छ । भने संस्थापन इतरबाट बानियाँ सभापतिको दौडमा हुनुहुन्छ ।

मंगलबार साँझसम्म उपसभापतिका दुई पदका लागि गर्बुजा पक्षबाट बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, हालका उपसभापति माधवप्रसाद रेग्मी, क्या. मिनबहादुर कार्की र बानियाँ पक्षबाट केवी भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । बानियाँ पक्षबाट अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पनि उपसभापतिमा आकांक्षी देखिनुभएको छ । तर उहाँले उम्मेदवारी घोषणा गरिसक्नुभएको छैन । पालिका अध्यक्ष गर्बुजा बानियाँ पक्षको उत्तरी म्याग्दीको बलियो समर्थकका रुपमा लिइएको छ ।

यस्तै सचिवका दुई पदमा संस्थापन पक्षबाट युवा नेता भरत रकाललले मंगलबार दिउसो पत्रकार सम्मेलननै गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो भने अर्को आकांक्षी हिरा पुनले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै सचिव पदका लागि बानियाँ पक्षबाट दुर्गाराम सुवेदी र अजयमिलन श्रेष्ठले उम्मेद्वारी दिने तयारी छ । यद्यपी उहाँहरुले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

समावेशी सहित २५ जना महाधिवेशन प्रतिनिधिका लागि दुवै पक्षबाट करिब ५० जना आकांक्षीहरु देखिएका छन् । जिल्लामा काँग्रेसमा ८ पदाधिकारी र १३ जना जिल्ला सदस्य रहने व्यवस्था छ । जिल्लाभर ७ सय ५० जना क्षेत्री प्रतिनिधिहरु अधिवेशनका मतदाता हुन ।

जिल्ला कार्यसमितिको पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयनका लागि सहमति जुटाउन नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् । तर यो समाचार तयार पार्दा सम्म कुनै सहमति कायम नभएको काँग्रेसका एकजना नेताले बताउनुभयो । सभापतिमा सहमति भएपनि अन्य पदहरुमा धेरै आकांक्षीहरु भएकाले सहमति हुन कठिन हुने काँग्रेस नेताहरुले बताएका छन् ।