कलंकी–नागढुंगा सडक : तीन वर्षमा फराकिलो र हरियाली

राजधानी भित्रने र बाहिरिने सवारी साधनको बाक्लो चाप हुने नागढुंगा–कलंकी सडक खण्डमा हरेक दिन यस्तै समस्या दोहोरिन्छ। तर, यो समस्या अन्त्य हुने भएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सोचेजस्तै काम गर्न पायो भने आगामी ३ वर्षभित्र उक्त सडक फराकिलो र हरियाली हुनेछ। सडक जाममुक्त त हुने नै छ, पैदलयात्रीले समेत ढुक्क हिँड्न पाउनेछन्।
आयोजनाले तयार पारेको कार्ययोजनाअनुसार ७ दशमलव ५ मिटर फराकिलो दुई लेनको कलंकी–नागढुंगा सडक तीन वर्षपछि चार लेनसहित २२ मिटर फराकिलो हुनेछ। उक्त सडकको बीचमा दुई मिटर फराकिलो ‘ग्रिनबेल्ट’ (हरियाली स्थान) पनि हुनेछ। सडकको दुवैतर्फ १ दशमलव २ मिटर फराकिलो साइकल लेन हुनेछ। सडककै लेभलमा बनाइने साइकल लेनमा माइतीघर–तीनकुने खण्डको जस्तो भौतिक संरचना नै छुट्टै भने हुँदैन। अपांगमैत्री फराकिलो फुटपाथ पनि बन्नेछ। सडकका प्रत्येक लेन भने अन्य स्थानका भन्दा केही फराक अर्थात चार मिटरका हुनेछन्।
आयोजना प्रमुख प्रभात झाका अनुसार फुटपाथका बीचमा दृष्टिविहीनहरूलाई हिँड्न सहयोग हुने खालको रबर इन्डिकेटरसमेत राखिनेछन्। ‘सुन्दर फराकिलो सडकसँगै अपांग पैदलयात्रीले समेत सहजै हिँडडुल गर्न मिल्ने फुटपाथ बनाउन लागिएको हो,’ उनले भने, ‘साइकल चलाउन चाहनेका लागि छुट्टै व्यवस्थासमेत गर्न लागिएको छ।’ उनले सडक निर्माणका लागि आवश्यक डिजाइन तयार भइसकेको जनाउँदै छिट्टै काम अगाडि बढाउने बताए।
उक्त सडक खण्डबाट आउजाउ गर्ने सवारीकै सहजताका लागि आयोजनाले कलंकीदेखि त्रिपुरेश्वर सडक खण्डलाई पनि एकै पटक विस्तार गर्ने भएको छ। तर, तीन किलोमिटर लामो त्रिपुरेश्वर–कलंकी सडक खण्डको डिजाइन र लेन भने फरक हुनेछ। नागढुंगा–कलंकी सडकमा गुड्ने सवारीको तुलनामा चक्रपथभित्रको त्रिपुरेश्वर–कलंकी खण्डमा गुड्ने सवारीको चाप धेरै हुने भएकाले आयोजनाले यो खण्डमा ६ लेनको सडक बनाउन लागेको छ।
‘सवारी चाप अत्याधिक हुने भएकाले त्रिपुरेश्वरदेखि कलंकीसम्मको यो खण्डमा ६ लेन र नागढुंगातर्फ ४ लेन बनाउने भएका हौं,’ झाले भने, ‘त्रिपुरेश्वर खण्डमा सडकको लेन बढी हुने भएकाले ग्रिनबेल्ट भने बन्दैन।’ उनका अनुसार त्रिपुरेश्वर–कलंकी खण्डको सडकका दायाँबायाँ पनि दुई मिटर फराकिलो फुटपाथ र १ दशमलव २ मिटर फराकिलो सडककै लेवलमा साइकल लेन हुनेछ। यो सडकका प्रत्येक लेन तीन मिटर फराकिलो हुनेछ।
उनले सडक निर्माणका लागि प्रक्रिया पूरा गरेर केही दिनमा नै बोलपत्र आह्वान गर्न लागिएकाले कुल खर्च तत्कालै सार्वजनिक गर्न नमिल्ने बताए।
आयोजनाले त्रिपुरेश्वरदेखि नागढुंगासम्मको १२ किलोमिटर सडकलाई एकै पटक २२ मिटर फराकिलो बनाउने कार्ययोजना बनाएको हो। तर, सडक खण्डलाई भने दुई भागमा विभाजन गर्दै डिजाइन फरक पारिएको झा बताउँछन्। उनका अनुसार ती क्षेत्रमा सडक निर्माणपूर्व मिचिएका भौतिक संरचना र अन्य संरचना हटाउने काम काठमाडौं नगर विकास प्राधिकरणले जति छिटो गर्यो् सडक निर्माण त्यति नै छिटो हुनेछ।
प्राधिकरणले ती क्षेत्रमा नाप–नक्साका आधारमा चिह्न लगाएर भत्काउने काम छिट्टै अगाडि बढाउने जनाएको छ। प्राधिकरणका अनुसार उक्त सडक खण्डमा सबैभन्दा बढी कालीमाटीदेखि सोल्टीमोडसम्मका घर तथा अन्य भौतिक संरचना भत्कनेछन्। यस्तै, त्रिपुरेश्वर सडक खण्डमा रहेको वर्ल्ड ट्रेड सेन्टर लगायतका संरचनासमेत भत्कनेछन्। उक्त खण्डका धेरै घर पूर्ण र आशिंक रूपमा भत्कने प्राधिकरणले जनाएको छ। सरकारले संरचना भत्काउँदा घरको क्षतिपूर्ति दिए पनि जग्गाको भने क्षतिपूर्ति दिने छैन।