माओवादी केन्द्र म्याग्दीले थाल्यो वडा र पालिका सम्मेलनको तयारी

विकल्प न्यूज/बेनी
कार्तिक ७ गते ।

नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ । बेनीमा शनिबार बसेको जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो ।

माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका सबै टोल, वडा र पालिकाको एकै दिन सम्मेलन गर्न जिम्मेवारी बाडफाड गरेर तयारी गरिएको जानकारी दिनुभयो । केन्द्रिय कमिटिको परिपत्र अनुसार कात्तिक २० गतेभित्र सदस्यता नबिकरण गर्ने कार्यतालिका बनाएको उहाँले बताउनुभयो ।

हालसम्म एक हजार ६०० जना सदस्यको अनलाइनबाट सदस्यता नबिकरण भएको र थप चौध सय नबिकरण फारम अनलाइनबाट अद्यावधिक गर्ने काम भइरहेको संयोजक जुग्जालीले बताउनुभयो ।

जिल्ला इञ्चार्ज गोबिन्द पौडेलको उपस्थितिमा बसेको बैठकले स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको छ । बेनी नगरपालिकामा बिनोद केसी इञ्चार्ज, पदमबहादुर पुन सहइञ्चार्ज चयन हुनुभएको छ ।

मंगलाको इञ्चार्जमा टेकबहादुर बिक, सहइञ्चार्जमा चन्द्रप्रसाद बुढाथोकी र पुनम खड्का रहनुभएको छ । अन्नपूर्णमा बुद्धी पुन, रघुगंगामा रिम केसी, मालिकामा कुशल पौडेल र धवलागिरीमा खुमनाथ सुबेदीले पालिका इञ्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

यसैगरी एमालेमा प्रवेश गरेका पुस्कर बिक, भुपेन्द्र बुढाथोकी, भोजबहादुर थापा, सुवास बिक र होमलाल पुनलाई साधारण सदस्यता समेत नरहनेगरी माओवादी केन्द्रले निस्काशन गरेको छ ।

माओवादी केन्द्रबाट चुनाव जितेर शनिबार एमाले प्रवेश गरेका धवलागिरी गाउँपालिका–७ ताकमका जनप्रतिनिधी देबहादुर थापालाई पनि निर्वाचन आयोगसँग परामर्श लिएर कारबाही प्रक्रिया अघि बढाउने नेताहरुले बताएका छन् ।

यसअघि ३३ जनाको रहेको जिल्ला समन्वय कमिटिलाई बिस्तार गरेर १०१ सदस्यीय बनाएको छ । जिल्ला समन्वय कमिटिको ३३ प्रतिशत रहनेगरी सचिवालय बनाएको छ । मंसिर महिनाभित्र सबै जनबर्गीय संगठनको जिल्ला सम्मेलन गर्ने भएको छ ।

पार्टी कार्यालय भवन निर्माणका लागि नेता शेरबहादुर केसीको संयोजकत्वमा रिम केसी र नगेन्द्र केसी सदस्य रहनेगरी गठन भएको समितिलाई सात दिनभित्र स्थान छनौट गरेर सिफारिस गर्न निर्देशन दिएको छ ।