म्याग्दीमा ११ वटा जलविद्युत आयोजना

विकल्प न्युज/बेनी

असाेज २८ गते ।

म्याग्दीमा ३५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन् ।

विद्युत विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।

कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले २२० केभी क्षमताको दाना सवस्टेशन निर्माण पुरा र १३२ केभी क्षमताको डाडाखेत–राहुघाट सवस्टेशन तथा प्रसारण लाइन निर्माणको तयारीसँगै कालीगण्डकी, म्याग्दी र राहुघाट तथा सहायक नदीहरुमा जलविद्युत आयोजना निर्माणले तीव्रता पाएको बताए ।

सबैभन्दा बढी १० वटा जलविद्युत आयोजना रहेका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छन् ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाइड्रो इम्पाएर प्रालीले धवलागिरि गाउँपालिकामा २० मेगावाट क्षमताको अप्पर म्याग्दी जलविद्युत आयोजना निर्माणका लागि पहुँचमार्ग खन्न थालेको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेडले अन्नपूर्ण गाउँपालिका निर्माण गरिहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको हालै सुरुङ निर्माण सकिएको छ ।

निलगिरि हाइड्रोपावर लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि खोला दोस्रो (क्यासकेड) जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

तुदी पावर कम्पनी प्रालिले रघुगङ्गा गाउँपालिकामा ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अप्पर राहुघाट जलविद्युत आयोजना निर्माणको काम एकै साथ गरिरहेको छ । ह्युम कन्सल्टले अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माणका लागि पहुँचमार्ग निर्माण सकेको छ ।

 

संयुक्त उर्जा प्रालिले रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गलेमा २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजनाको निर्माण शुरु गरेको छ ।

 

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको तीन वर्षअघि शिलान्यास गरेपनि गति लिन सकेको छैन् । रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले अन्नपूर्ण गाउँपालिका ३ दानामा ४ मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत आयोजना निर्माणको अनुमति पाएपनि रुप्से झरनाको सौन्दर्यमा असर पर्ने भन्दै स्थानीयबाट विरोध भएपछि काम सुरु गरेको छैन् ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना चिनियाँ लगानीमा निर्माणको तयारीमा रहेको छ । हाइड्रो सपोर्ट प्रालिले अन्नपूर्ण गाउँपालिकामा ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको अनुमति लिएको छ ।

अप्पर म्याग्दी हाइड्रोपावर लिमिटेडले धवलागिरि र मालिका गाउँपालिकामा ५३.५० मेगावाट क्षमताको अप्पर म्याग्दी पहिलो जलविद्युत आयोजना निर्माणको तयारी गरेको जनाएको छ । एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि गाउँपालिकामा १४.७० मेगावाट क्षमताको मुदीखोला र हाइड्रो भिलेज प्रालीले ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण गर्न मलेसियन कम्पनीसँग हालै लगानी सम्झौता र निर्माण कम्पनी छनौट गरेको छ ।

त्यस्तै ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी, ५.५ मेगावाटको बगरखोला र २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत आयोजनाले निर्माणका लागि अनुमति मागेको विद्युत विकास विभागले जनाएको छ ।रासस