भगवती काेतमा राँगो मार हान्न तीन लाखको बोलकबोल

विकल्प न्युुज / बेनी

असाेज २८ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ ।

बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो ।

बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु ३ लाख रकम तिर्ने कबोल गरेरे सरकारी बलीको मार हान्ने हुनुभएको छ । खड्काले बुधवार नै कबोल रकम पुजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ ।

यस अघि २०७६ सालको दशैँको नवमीमा भगवतीमा २ लाख ८८ हजारसम्ममा सरकारी मारको बढीबढाउ भएको थियो । गत बर्ष कोरोना महामारीको कारण भगवतीमा सरकारी मार स्थगीत गरि दशैँको औपचारिक पुजाआजा मात्रै गरिएको थियो ।

नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिले कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गरिन्छ ।
यो क्षेत्रकै एतिहाँसिक कोट मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ ।

‘‘आँटेको र चाहेको पुरा हुने भएपछि हरेक बर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएका छन्, सोही बमोजिम बढीबढाउका क्रममा सरकारी मार हान्ने रकम बढ्दै गएको छ, पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले भन्नुभयो । ’’

भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको छ । तत्कालिन बाइसे/चौबिसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।