दशैंले बढायो चहलपहल, वैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड

विकल्प न्यूज/बेनी
असोज २४ गते ।

कोरोना महामारीका कारण थला परेको आर्थिक क्षेत्रलाई दशैं आगमन सँगै केही राहत मिलेको छ । लामो समयको लकडाउन खुला र कोरोनाको संक्रमणमा केही कमि आएसँगै आर्थिक क्षेत्र चलायमान हुनथालेको हो । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं आगमनसंगै बजार र गाउँघरमा चहलपहल बढेको छ ।

दशैंका लागि गाउँ फर्कने क्रमले विगतमा सुनसान बनेका बस्तीमा चहलपहल बढाएको छ भने बजारमा किनमेल गर्न झरेका सर्वसाधरणहरुले बजार भरिभराउँ देखिएको छ । बेनीका व्यवसायिक पसलहरु र वित्तिय संस्थाहरुमा सर्वसाधरणहरुको भिडभाड देखिएको छ । तर यसपाली कोरोनाका कारण आर्थिक क्षेत्रमा नकरात्मक असर पुगेका कारण सर्वसाधरणहरुको क्रयशक्ति कमजोर बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमेको छ । आर्थिक उपार्जनका क्षेत्र नराम्रोसँग प्रभावित बनेका छन् । जसका कारण सर्वसाधरणहरुको आम्दानी घटेको छ ।

तर हाम्रो घरआगनमा दशैं आइरहेको छ । दशैंका कारण चहलपहल बढेको छ । कोरोना संक्रमण घटेको छ तर जोखिम कायमै छ । स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउनु छ । कोरोना संक्रमणको दर घटेपनि जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउन स्वास्थ्य कार्यालय म्याग्दीले सवैमा अनुरोध गरेको छ ।

दशैं मनाउन राजधानी लगायतका ठाउँबाट बेनी भित्रने क्रम बढ्दो छ । बजारमा बसोबास गरेकाहरु गाउँफर्किन हतारो छ । रोजगार, अवसर र सुबिधाको खोजी तथा अध्ययनका लागि नेपालभित्रै पनि युवा युवतीहरु सहर बस्ने गरेकाले गाउँमा नियमित बस्ने वृद्धबृद्धा र बालबालीकाहरु धेरै छन् । कहिले दशैं आउँला र आफ्ना छोराछोरीसँग बसौँला भन्ने आशमा वर्ष बिताएका बूढाबूढीमा आफ्ना छोराछोरी तथा परिवारका सदस्य फर्केपछि खुसीयाली छाएको छ । कतिपय परिवारका सदस्यहरु कोरोना महामारीका कारण भेटघाट गर्न समेत पाएका थिएनन् । दशैंले उनीहरुलाई भेटघाटको अवसर दिएको छ ।

मनसुनका कारण ग्रामिण सडकहरु क्षतविक्षत अवस्थामा पुगेका छन् । गाउँपालिका र नगरपालिकाले सडक मर्मत गरे पनि यात्रा सहज अझै बनेको छैन । सवारीसाधनमा भिडभाड नगरी सुरक्षित तवरले यात्रा गर्न आवश्यक छ । सडकको अवस्था र यात्रुको बढ्दो चापका कारण दुर्घटनाको जोखिम छ ।

शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित अपराध, बिकृती, दुर्घटना न्युनीकरण, अनुसन्धान र कारबाहीका लागि बिशेष सुरक्षा योजना लागु गरिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । दशैं तिहार लगायत चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय म्याग्दीले चाढपर्व सुरक्षा योजना पारित गरेर लागू गरेको छ । ‘जिल्ला सुरक्षा समितिको वैठक बसेर चाढपर्व सुरइक्षा योजना पारित गरेका छौं, यसलाई कडाइका साथ कार्यान्वयन गर्न प्रहरी परिचालन गरिएको छ ’ प्रनाउ राईले भन्नुभयो ।

संभावित स्थानहरुमा प्रहरीलाई खटाउने,मोवाइल गाडीहरु परिचालन गरेको उहाँले बताउनुभयो । ठूला बजार र स्थानीय बजारमा प्रहरी परिचालन गरिएको छ । सादा पोशाकमा पनि प्रहरी परिचालन गरी सूचनाहरु लिने काम गरिएको प्रनाउ राईले बताउनुभयो । कालोबजारी र जुवातास नियन्त्रणका लागि सूचनाहरु लिने र त्यही अनुरुपमा प्रहरी खटाउने काम गरेको उहाँले बताउनुभयो । मुख्य स्थानहरुमा सवारीसाधन चेकजाँचको व्यवस्था मिलाउन ट्राफिक र जनपथ प्रहरीलाई संयुक्त रुपमा खटाएको उहाँले बताउनुभयो । म्याग्दी प्रवेश गर्ने नाकाहरुमा कालिपुल,रत्नेचौर र दानामा प्रहरी टोली परिचालन गरिएको उहाँको भनाई छ ।

चाडपर्वको समयमा लाग्ने मेलाजात्रा, मदिराको अव्यवस्थित र अत्याधिक प्रयोग, चोरी र दुर्घटना सुरक्षा चुनौतीको रुपमा रहेका छन् । यात्राका क्रममा सर्वसाधारणलाई परेको गुनासो सुन्ने र समस्यामा परेकालाई सहयोग गर्न कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

प्रहरीले बैङ्क तथा वित्तिय संस्थाहरु र बढी भीड हुने बजार क्षेत्रमा २४ सै घण्टा गस्ति एवं सादा पोसाकमा प्रहरी खटाएको जनाएको छ । प्रनाउ राईका अनुसार कार्यालय र मातहतका इकाईहरुबाट दिन तथा रातको समयमा गस्ति परिचालन, सवारी चेकजाँच तथा कारबाही, होटल तथा लजको दैनिक चेकजाँच तथा घरेलु मदिरा नियन्त्रण गर्न प्राथमिकता दिइएको छ ।


बैङ्क, वित्तिय संस्था र रेमिट्यान्स काउन्टरहरुमा बिदेशबाट आफन्तले पठाएको रेमिट्यान्स भुक्तानी लिन आएका सर्वसाधारणको भीड लागेको छ । दैनिक रुपमा ३५ देखि ४० लाख रुपियाँ सम्म भुक्तानी भएको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक हरिप्रसाद पौडेलले बताउनुभयो । दशैं सुरु भए लगत्तै रेमिट्यान्स भुक्तानी बढेको उहाँको भनाई छ । यस्तै बेनीको न्यूरोडमा रहेको गरिमा विकास वैंकबाट पनि दैनिक रुपमा ३५ लाखको हारहारीमा रेमिट्यान्स भुक्तानी भएको वैंकका प्रवन्धक कमलप्रसाद ढुङ्गानाले बताउनुभयो ।

बेनी, दरवाङ, तातोपानी, गलेश्वर, भुरुङ तातोपानी, ताकम लगायतका ठाउँमा रहेको बैङ्कको शाखा र रेमिटेन्स काउन्टरमा दसै नजिकिदै गर्दा कारोबार बढेको छ । बिदेशबाट आएको रेमिट्यान्स भुक्तानी लिने, बचत फिर्ता लिने र बचत गर्ने गर्नेहरुको भीड लागेको हो । यसैगरी नेपाल वैंक लगातयका वित्तिय संस्थाहरुमा नयाँ नोट साटही गर्नेहरुको भिड लाग्ने गरेको छ ।

 


दशैं पर्व नजिकिँदै गर्दा जिल्लाका ग्रामिण भेगका बजार तातोपानी, बाबियाचौर, दरवाङ, भुरुङ तातोपानी, पोखरेबगर लगायतका बजार क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको चहलपह बढेको छ । दसैंका लागि लत्ताकपडा, खाद्यान्न लगायतका आवश्यक सामाग्री खरिद गर्न उपभोक्ताको चहलपहल बढेको हो । कपडा, सुनचाँदी, मोवाईल पसलहरुमा ग्राहकको चापसंगै व्यापारमा पनि वृद्धी भएको छ । समाजमा रहेको दसंैको समयमा नयाँ कपडा लगाउने, मिठो खाने र रमाईलो गर्ने मान्यताले बजारमा कारोबार बढाएको हो ।

सडक र यातायात सुबिधाको विस्तारले गर्दा सदरमुकाम बेनीमा विगतको जस्तो ब्यापार नभएको व्यवसायीहरुले बताएका छन् । गाउँमै सामान पुग्न थालेपछि सदरमुकाममा किनमेल गर्न आउने घटेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कोरोना संक्रमणको त्रास अझै कायमै भएकाले सर्वसाधरणहरु ढुक्कले बजार झर्न नपाएको उहाँको भनाई छ । बजारमा अशोभाविक तवरले मुल्य बढ्न नदिन उद्योग वाणिज्य संघले खाद्यन्न लगायतका सामाग्रीको मुल्य तोकेको उहाँले बताउनुभयो ।