ताजा समाचार:
Search

म्याग्दीका पछिल्ला दुई निर्वाचन माथि प्रश्न ? (सम्पादकीय)

विकल्प न्यूज/बेनी
असोज १७ गते ।


यतिखेर नेपाली काँग्रेसको महाधिवेशन चलिरहेको छ । वडा देखि केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन चलिरहेको छ । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । म्याग्दीमा दुई वटा वडा वाहेक अन्यमा सहमतिबाट नेतृत्व चयन भए । पालिका तथा नगर अधिवेशन पनि सम्पन्न भइसकेका छन् । अव निर्वाचन क्षेत्र प्रदेश र जिल्ला समितिको नेतृत्व चयन गर्न वाँकी छ । दुईवटा पालिका र वडाको नेतृत्व चयन गर्दा मतदानको प्रक्रिया अपनाइयो । पार्टी नेतृत्वको आकांक्षीहरु धेरै भएपछि निर्वाचनको प्रक्रियामा लैजानु लोकतान्त्रिक विधि पनि हो । तर लोकतान्त्रिक विधिका नाममा अनेकन विकृति र विसङ्गती भित्रिएका छन् । पार्टी भित्रको निर्वाचनलाई पनि अन्य पार्टी सँगको प्रतिस्पर्धा जस्तो गरेर प्रचार गरिनु,अनेकन हथकण्ड अपनाउनु राम्रो र स्वभनीय छैन । निर्वाचनमा भएका गतिविधिले पार्टीमा दलालीकरण,गुण्डाकरण र मण्डलीकरण भित्रिएको आवास स्वयम काँग्रेसजनहरुले गरे । यो काँग्रेसका लागि मात्र होइन अन्य पार्टीका लागि पनि एउटा चुनौती हो ।

म्याग्दीमा ६ महिनाको अवधिमा दुईवटा निर्वाचन भए । पहिलो नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि र अर्को नेपाली काँग्रेसको बेनी नगरपालिका नेतृत्व चयनका लागि । महासंघको निर्वाचनमा केही बेनीका व्यक्तिहरुले जुनखालको गतिविधिहरु गरे त्यो समर्थन गर्न लायक थिएन । एमाले भित्रको एउटा पंक्ति जुन छ त्यो जिल्ला,समाज र देशकै लागि घाडो छ । जसले आफ्नो भक्ति भाव गर्ने वाहेक अन्य कसैलाई पनि कुनै अवसर दिन चाहदैन । जुन समुह आफू भन्दा माथिका नेताहरुको चाकडी र चाप्लुसी गरेर आफ्नो स्वार्थ पुर्ति गर्दछ ।

 पछिल्ला  दुई निर्वाचनलाई स्वतन्त्र र स्वच्छ बनाउनुका सट्टा अनेकन विकृति र विसङ्गतीमुलक बनाइयो । समाजमा भएका विकृति र विसंगतीहरुको उजागर गर्ने पत्रकारहरुको निर्वाचन नै स्वतन्त्र रुपमा हुनसकेन् । मतदाताहरुलाई प्रलोभनमा पार्ने,धम्काउने,डर त्रास देखाउने जस्ता कार्यहरु भए । धन,पैसा र बल हुनेले मात्र निर्वाचन जित्नुपर्दछ भन्ने सन्देश दिन खोजियो । यस्तै काँग्रेसको अधिवेशनमा पनि भित्रिदै छ । पार्टी भित्रको आन्तरिक नेतृत्व चयनमा पनि विकृति भित्राउन थालेपछि अव राजनीति कता जाने हो भन्ने प्रश्नहरु उठन थालेका छन् । हुनत राजनीतिमा विचार,सिद्धान्तको कुरा हराउदै गएको छ । इमान्दार,लगनशिल,र क्रियाशिलताका आधारमा नेतृत्वमा आउन सक्ने वातावरण छैन ।
अव राजनीतिमा आएका नयाँ पुस्ताले पनि पुरानै तरिकाको राजनीतिक आचारणलाई प्रशय दिदैं जाने हो भने राजनीति ठिक ठाउँमा पुग्न सक्दैन । राजनीति मात्र होइन हरेक संस्थाको नेतृत्व चयन गर्दा हामीले ध्यान पु¥याउन सकिएन भने भावि पुस्ताको भरोसा कायम रहन सक्दैन । पार्टीमा होस् वा अन्य संघसस्थामा नयाँ पुस्तालाई आकर्षीत गर्न वातावरण राम्रो हुनुपर्दछ । नेतृत्वमा पुग्न समाजमा नपच्नेखालका गतिविधिहरु गर्नुले समाज र नयाँ पुस्ताको विश्वास टुट्छ । त्यसैले प्रतिस्पर्धा स्वच्छखालको हुनुपर्दछ । धनपैसा,बल र शक्तिका भरमा नेतृत्वमा आउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्दछ । विकृतिको जगबाट नेतृत्वमा आएकाहरु दिगो हुनसक्दैनन् । पार्टी वा संघसस्थाहरुमा योगदान,लगशिलता,क्रियाशिलता, विचार र सिद्धान्तका भरमा नेतृत्वमा आउने वातावरण तयार पार्न सवैजना लाग्नुपर्ने देखिन्छ । नवविकल्प साप्ताहिकको सम्पादकीय