ताजा समाचार:
Search

तातोपानी कुण्ड खुलेसँगै उपचारका लागि आउन थाले विरामी (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी
असोज १३ गते ।

 म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको प्रशिद्ध तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत बैशाखको तेस्रो साता देखि तातोपानी कुण्ड बन्द गरिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका रुपमा रहेको तातोपानी कुण्डलाई प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न अनुमति दिएको छ । प्रशानसले अनुमति दिएसँगै कुण्डमा स्नान गरेर रोग निको हुने विश्वासमा काठमाण्डौं,पोखरा,बागलुङ,पर्वत लगायतका जिल्लाहरुबाट विरामीहरु कुण्डमा स्नान गर्न आउन थालेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

अहिले दैनिक डेढसय देखि दुईसयको हाराहारीमा विरामीहरुले कुण्डमा स्नान गर्न आउने गरेका छन् । विरामीको चापलाई ख्याल गरेर सकेसम्म भिडभाड नहोस भनेर आलोपालो गरेर ढुब्ने व्यवस्था मिलाइएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।
कुण्डमा प्रवेश पाउनका लागि अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको हुनुपर्दछ सचिव केसीले भन्नुभयो ‘खोप नपाएका तर जटिलखालका विरामीहरुका लागि भने छुट्ै कुण्डको व्यवस्था गरेर स्नान गर्ने व्यवस्था मिलाउन लागेका छौं ।’

कुण्डमा प्रवेश गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भिडभाड गर्ननहुने नियमलाई कडाईका साथ कार्यान्वय गरिएको उहाँले बताउनुभयो । कुण्ड सञ्चालनमा आएसँगै विरामीहरुको चाप बढ्न थालेकाले स्वास्थ्य मापदण्डपालनामा जोड दिइएको उहाँले बताउनुभयो ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।