काँग्रेसकाे रघुगंगा सभापतिमा मनकुमार निर्वाचित

विकल्प न्युज/ बेनी

असाेज ९ गते । 

नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाकाे सभापतिमा मनकुमार शेरपुजा निर्वाचित हुनुभएको छ ।

शनिबार पालिका केन्द्र मौवाफाटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ ।

अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी खड्का सुवेदी, मोहन तिलिजा, खिमबहादुर फगामी, सहसचिबमा भिमबहादुर कार्की, रिति थजाली र कोषाध्यक्षमा ओमकुमारी फगामी चयन हुनुभएको छ ।

पार्टिको विद्यानमा दुई/दुई उपसभापति र सचिब रहने प्रावधान रहेपनि स्थानीय सहमती अनुसार तीन/तीन जना बनाइएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि गाउँपालिका समितिका निवर्तमान सचिब रहनुभएका शेरपुञ्जा, सभापति रहनुभएका जीवनकुमार मल्ल र गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले दावि गर्नुभएको थियो ।

सर्वसम्मत नेतृत्व चयनको लागि मार्गप्रसस्त गर्दै मल्ल सभापतिको प्रतिस्पर्धाबाट पछि हटेपछि अन्तिममा शेरपुञ्जा र भण्डारीबिच मतदान प्रकृयाबाट नेतृत्व चयन हुने अवस्था पुग्न लागेको थियो ।

यद्यपी अधिवेशनको उद्घाटन सभा लगत्तै उम्मेदवारी दर्ता प्रकृया अघि सभापतिका दावेदारको रुपमा रहनुभएका शेरपुञ्जा र भण्डारीबिचमा निर्णायक वार्ता भएको थियो । सो क्रममा आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा पुनः भण्डारीलाई नै अघि सार्न शेरपुञ्जा सहमत भएपछि सभापति पदमा भण्डारीले शेरपुञ्जालाई सघाउनुभएको स्रोतको दावि छ ।नवनिर्वाचित सभापति शेरपुञ्जाले सभापतिका पत्यासिद्धयले पार्टीलाई अझ बलियो र शसक्त बनाउने अभियानको लागि आफुलाई समर्थन जनाएको भन्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

उहाँले पार्टीलाई गतिशिल, थप सक्रिय बनाउन आफु निरन्तर लागिरहने बताउँदै अग्रजका अनुभव र युवाहरुको संकल्पमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

भण्डारी र मल्लले सहमती, सहकार्य र एकताको सन्देश दिदै युवाहरुलाई नेतृत्वमा अवसरका लागि आफुहरुले सभापतिको आकाँक्षा त्यागेर शेरपुञ्जालाई सर्वसम्मत सभापतिमा समर्थन गरेको बताउँदै पालिकामा पार्टीलाई थप बलियो बनाउने अभियानमा लाग्न सुझाब दिनुभएको थियो ।