काँग्रेसको बेनी नगर अधिवेशन ः सभापतिमा कसले मार्ला बाजी ?

विकल्प न्यूज/बेनी
असोज ९ गते ।

 

नेपाली काँग्रेस बेनी नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

सहमतिको प्रयास भइरहेको छ तर सहमतिबाट नयाँ नेतृत्वको टुंगो नलागे जिसस सभाहलमा असोज १० गते विहान ८ बजेदेखि मतदान सुरु हुने मतदान अधिकृत केशव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका निर्वतमान सभापति तथा संविधानसभा सदस्य रेशम बानियाँले पार्टीलाई एकताबद्ध भएर अघि बढाउन नेतृत्व गर्ने नेताहरु गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।

सहमति नभएर निर्वाचन प्रक्रियाबाट नेतृत्व चयनमा अनुशासन पुर्वक सम्पन्न गराउन क्षेत्रीय प्रतिनिधि र उम्मेद्वारलाई बानियाँले अनुरोध गर्नुभयो । निर्वतमान उपसभापति नेत्र महतले पालिकाको नेतृत्वका लागि सहमति सहकार्य र एकता भनेपनि गुटको राजनीतिले पाटीलाई असर गर्ने बताउनुभयो ।

पार्टीमा  चर्को गुटबन्दीमा शिर्ष नेताहरु लागेको कारण क्षेत्र क को पालिकामाहरुमा चुनाव हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले क्षेत्र खमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल नेताहरुलाई धन्यवाद दिनुभयो । त्यस्तै पाटी सचिव एवम् बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले र्निविरोध नेतृत्व चयन नभएपनि स्वच्छ प्रतिस्पर्धामा रहेर नेतृत्व चयन गर्न क्षत्रिय प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

नगर सभापति अनोद श्रेष्ठको अध्यक्षता, उपसभापति यामबहादुर बाँनियाको स्वागत तथा सचिव हरिप्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले सहमतिमा नेतृत्व चयन गर्न जोड दिएका थिए । नगरमा एकसय ७१ जना क्षेत्रीय प्रतिनिधि छन् । दुवै पक्ष विच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।