क्षेत्रीय प्रतिनिधि ः लोभ, लालचमा फस्ने की सक्षम नेतृत्व छान्ने !

विकल्प न्यूज डेस्क / बेनी
भदौं ३१ गते ।

 

नेपाली काँग्रेस म्याग्दीले यहि भदौं १८ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ । सँगसँगै वडाबाट क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित भए । ४५ वडा मध्य ४४ वडामा काँग्रेसले वडा अधिवेशन सम्पन्न गरिसकेको छ । काँग्रेसको पछिल्लो संसोधन तालिका अनुसार असोज ९ गते पालिका अधिवेशन र १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र १५ गते जिल्ला अधिवेशन हुनेछ ।

सभापति सहित प्रत्येक वडाबाट १६ जना क्षेत्रीय प्रतिनिधि चुनिए । यी वाहेक गत निर्वाचन प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार भएका स्वतः प्रतिनिधि हुने व्यवस्था छ । यसका साथै अपाङ्ग र अल्पसंख्याक मुस्लिम समुदायबाट एकजना प्रतिनिधि चयन हुने विधानमा व्यवस्था गरिएको छ । यस हिसावले काँग्रेसको जिल्ला अधिवेशनमा करिब ७ सय ५० को हाराहारीमा प्रतिनिधिको सहभागिता हुने देखिन्छ । गाउँ तथा नगर र जिल्ला सभापतिमा चयन हुन ५१ प्रतिशत मत ल्याउनुपर्दछ ।

क्षेत्रीय प्रतिनिधिले गाउँ तथा नगर,प्रदेशसभा स्तरीय कार्यसमिति निर्माण, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् । तिनै प्रतिनिधि मध्यबाट गाउँ तथा नगर सभापति,जिल्ला कार्यसमिति र महाअधिवेशन प्रतिनिधिका लागि उम्मेदवार हुन पाउँछन् । त्यस हिसाबले पनि क्षेत्रीय प्रतिनिधिको भूमिका महत्वपूर्ण छ । त्यसैले उनीहरु ‘‘पावरफूल’’ छन् ।

संघिय संरचना अनुसार काँग्रेसले यसपाली पार्टी संरचना तयार पार्दै छ । ति संरचनाहरुमा सवल,गतिशिल र वैचारिक नेतृत्व चयन गर्ने महत्वपूर्ण जिम्मेवारी क्षेत्रीय प्रतिनिधिहरुको हो । वडा अधिवेशन सम्पन्न भएसँगै पालिका तथा जिल्ला र महाधिवेशन प्रतिनिधिका लागि आकांक्षीहरुले छलफललाई तिव्रता दिन थालेका छन् । फोन,म्यासेज र भेटघाट मार्फत आफूलाई जिताउन क्षेत्रीय प्रतिनिधिलाई कन्भिस गर्न थालेका छन् ।

अघिपछि सुनसान हुने पार्टी कार्यालयमा भने यसपाली निकै चहपहल देखिन्छ । नेता देखि कार्यकर्ताहरु दिनदिनै कार्यालयमा भेला हुन्छन् । नेतृत्वका आकांक्षीहरु प्रतिनिधिलाई आ– आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् । दुईवटा वडा वाहेक सवै वडामा सहमतिबाट नेतृत्व चयन भए ।

अव गाउँ तथा नगरपालिका सम्म आउँदा यो संभावना कति छ त ? अव करिब ७ देखि ८ महिना भित्रमा स्थानीय तहको निर्वाचन हुन्छ । त्यस हिसावले पनि पार्टी सत्ताको नेतृत्वमा आउने धेरैको इच्छा छ । सके सहमतिबाट नसके मतदानबाट भएपनि नेतृत्व हात पार्ने दाउमा नेताहरु देखिन्छन् ।

त्यसैले अन्य पदहरुमा सहमति बनेपनि सभापतिमा सहमति हुन कठिन देखिन्छ । यसका साथै जिल्ला सभापति सहित पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयनमा सहमतिको संभावना न्यून देखिन्छ । प्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्ने कसरतमा यतिखेर नेतृत्वका आकांक्षीहरु तल्लिन छन् । ‘कुशल,वैचारिक र सक्षम नेतृत्व चयन गर्ने महत्वपूर्ण भूमिका क्षेत्रीय प्रतिनिधिहरुको हो, तर यहाँ विभिन्न लोभ,लालच,छलछाम र तिकड्म सुरु भइसकेको छ ।

यो प्रवृत्तिले काँग्रेसलाई बलियो बनाउँदैन झन कमजोर बनाउँछ । हाम्रो सन्निकट निर्वाचनहरु आएका छन् त्यसहिसाबले पनि काँग्रेसलाई बलियो बनाउने नेतृत्वको आवश्यक छ’ एक जिल्ला स्तरीय नेताले भन्नभयो । ति नेताका अनुसार क्षेत्रीय प्रतिनिधिहरुलाई प्रभावित पार्न अवान्छित गतिविधिहरु भएका छन् जो पार्टी हितमा छैनन् । पार्टीलाई विधि,प्रक्रिया र संस्थागत रुपमा सञ्चालन गर्ने क्षमता र ढङ्ग नभएकाहरुनै फेरी पनि नेतृत्वमा आउन विभिन्न चालबाजीहरु रचिरहेको ति नेताको भनाई छ ।

पार्टीमा राजनैतिक र वैचारिक नेतृत्वको आवश्यकता छ ति नेता भन्नुभयो, लोभ,लालचमा नलागी सक्षम र गतिशिल नेतृृत्व चयन काँग्रेस म्याग्दीको आजको आवश्यकता हो ।’ ‘हाम्रा सामु बलियो प्रतिपक्ष छ,जो संगठित छ । संघ,प्रदेश र स्थानीय तहको निर्वाचनमा उसलाई परास्त गर्न अधिवेशन मार्फत हामीले बलियो शक्ति निर्माण गर्नुछ’ उहाँले भन्नुभयो । यो कति सम्भव छ ? ति नेताले भने अनुसार काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु निर्वाचनमा स्वतन्त्र रुपबाट मतदान गर्लान त ? प्रभावमा नपरी सक्षम नेतृत्व चयन गर्न सक्ने हिम्मत राख्लान त ? काँग्रेसमा यतिखेर युवाहरुको बर्चश्व छ । युवा पक्ति कसरी प्रस्तुत हुन्छ त्यसले पनि ठूलो भूमिका खेल्छ । युवा पक्ति क्षणिक स्वार्थको भरमा लहलहैमा लाग्ने त होइन भन्ने एकाथरीको चिन्ता छ ।

केन्द्रमा विभिन्न गुटमा विभाजित काँग्रेस जिल्लामा पनि विभाजित छ । गुट निर्माण गरेर अधिवेशनमा जाने तयारी थालिएको छ । पूर्व सभापति तथा संविधानसभा सदस्य रेशम बानियाँ र वर्तमान पार्टी सभापति खमबहादुर गर्बुजा(खम्बिर) ले आ– आफ्नो प्यानल बनाउँदै छन् । गाउँ तथा नगर र जिल्ला नेतृत्वका लागि आकांक्षी भएकाहरु बानियाँ र गर्बुजा पक्षधर भन्दै क्षेत्रीय प्रतिनिधिसँग मत माग्न थालिसकेका छन् ।

जो होस् क्षेत्रीय प्रतिनिधिहरुको परिक्षा सुरु भएको छ । काँग्रेस म्याग्दीलाई हाक्ने नेतृत्व चयन गर्ने महत्वपूर्ण जिम्मेवारी काँधमा छ । परिक्षामा पास हुने कि फेल !