पर्वत बेनीबाट ठुलो संख्यामा जुवाडेहरु रङ्गेहात पक्राउ (भिडियो सहित)

विकल्प न्यूज\पर्वत बेनी
भदौं २८ गते ।

जलजला ३ पर्वत बेनीबाट तास खेलीरहेको अवस्थामा सोमबार साँझ ठूलो संख्यामा जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले पर्वत बेनीको मल्लाज चोकको एक घरबाट ५ जना र माथिल्लो बजारबाट ६ जना गरी ११ जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

बजारमा तास खेलीरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली पर्वत बेनी आएको थियो । टोलीले मल्लाज चोकमा प्रेमबहादुर भण्डारीको घरमा डेरामा लेकाली खाजा घर सञ्चालन गरी बस्ने हेमा पुन सहित ५ जना र माथिल्लो बजारमा चोकबहादुर पुनको घरमा डेरा गरी वस्ने विर बहादुर श्रीपाली सहित ६ जनालाई तास खेलीरहेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको प्रहरी निरिक्षक प्रदिप पौडेलले जानकारी दिनुभयो । पुन र श्रीपाली जुवातास सञ्चालक हुन ।

उहाँका अनुसार लेकाली खाजा घरको तासको खालबाट २५ हजार ५०० र श्रीपाली सहित खेलेको तासको खालबाट ७ हजार ८ सय २५ नगद पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सवैजनालाई थप अनुशन्धान गरी कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको वारीबेनी प्रहरी चौकीले जनाएको छ ।

पर्वत बेनीमा केही वर्ष यता जुवातास मौलाएको स्थानीयहरुले बताएका छन् । जुवातासका कारण समाजमा विकृति बढेको उनीहरुले गुनासो गरे । सोमबार साना तास खेलाडी मात्र प्रहरीले पक्राउ गर्न सफल भएको र ठू्रला खेलाडी उम्किएको स्थानीयले बताए । जुवातासलाई नियन्त्रणमा लिन प्रहरीको थप सक्रियता हुनुपर्ने स्थानीयहरुले बताएका छन् ।