रातको समयमा कालिगण्डकी दोहन गर्ने आनन्दबगरका तिनजना पक्राउ

विकल्प न्यूज/बेनी
भदौं २७ गते ।

बेनी नगरपालिका १ आनन्द बगरबाट कालिगण्डकी नदीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राती आनन्दबगरमा स्काइभेटरको प्रयोग गरी नदीजन्य प्रदार्थ उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेनी नगरपालिका १ आनन्द बगरका कष्णबहादुर बोगटी,डोलेन्द्र खत्री र ग १ क ४४५६ नम्बरको स्काईभेटर चालक बावु चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक तथा सूचना अधिकारी विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

आनन्द बगरमा रातीको समयमा नदीकिनारबाट स्काईभेटरको प्रयोग गरी अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनीहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
बालुवा उत्खनन् गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले सामान्य अवस्थामा सोधपुछ गर्दा उल्टै प्रहरीमाथि हातपात,अपशब्द प्रयोग,हुलहुज्जत तथा अभद्र व्यवहार गरेको हुनाले जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुशन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय कालिगण्डकी नदीमा अवैध रुपमा वालु उत्खनन् बढीरहेको छ । प्रहरी र प्रशासनले रोक्न प्रयास गरेपनि उत्खनन् कार्य रोकिएको छैन । शक्तिका आधारमा स्थानीय व्यक्तीहरुले नदीबाट लाखौं मूल्य बराबरको वालुवा उत्खनन् गरेर विक्री गर्दै आएका छन् ।