अहिलेको शिक्षा प्रणालीले दलालहरुलाई जन्माउँछ ः नेकपा केन्द्रिय सदस्य घिमिरे

विकल्प न्यूज\बेनी
भदौं २६ गते ।

 
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् म्याग्दी जिल्ला इन्चार्ज ध्रुर्व घिमिरे (बिप्लव)ले मुलुकमा बैज्ञानिक शिक्षा प्रणालीको जरुरत रहेको बताउनुभएको छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको १८ औँ जिल्ला सम्मेलनको शनिवार बेनीमा उद्घाटन गर्दै नेता घिमिरेले अहिलेको दोहोरो र अव्यवहारिक शिक्षा प्रणालीले दलाल, माफिया र बिचौलिया उत्पादन गरेको बताउनुभयो ।

उहाँले मुलुकका हरेक क्षेत्रमा दलालहरु हावि हुनुमा मुलुकको राज्य संरचना र शिक्षा निति जिम्मेवार रहेको बताउँदै समान र व्यवहारिक शिक्षाका लागि वैज्ञानिक शिक्षा प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अनेरास्ववियू क्रान्तिकारीको इतिहास मसिले नभएर रगतले लेखिएको भन्दै जनताको हक, हित र अधिकारको प्रत्याभुति र मुलुकको अग्रगामी परिवर्तनका लागि विद्यार्थीहरुले गरेको योगदान अतुलनिय रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा म्याग्दीका सेक्रेटरी शुसिला विश्वकर्माले मुलुकको हरेक परिवर्तनमा विद्यार्थीहरुको योगदान नेतृत्वदायि रहेको बताउँदै समाज परिवर्तनको लागि विद्यार्थीहरु थप शसक्त हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी धौलागिरि व्युरो इन्चार्ज सुरेन्द्र बस्नेतले गरिब र धनीका बालबालिकाहरुले पठ्ने पाठ्यक्रम एउटै नहुँदा सम्म समान शिक्षाको पत्याभुति नहुने बताउँदै शिक्षालाई किनेर किन्ने र बेचेर बेचिने अहिलेको अवस्थाबाट राज्यको दायित्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला संयोजक विनय खड्काको अध्यक्षतमा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सचिब उषा घिमिरे,अनेरास्ववियु क्रान्तिकारीका पूर्व अध्यक्ष सम्राट सापकोटा, युवा संगठन नेपालका इन्द्र साउद लगायतले मन्तव्य राख्नुभएको थियो भने रोहित बिकले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।