जहाँ शिक्षक र कक्षा कोठाको अभावमा सयौं विद्यार्थी विद्यालयको गेटबाट फर्किन्छन्

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज
भदौं २५ गते ।


नेपालकै सर्वोत्कृष्ट विद्यालयका रुपमा घोषित म्याग्दीको बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी र कक्षा कोठाको अभाव देखिएको छ । वर्षेनी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढ्दै गएका कारण शिक्षक र कक्षा कोठाको अभाव भएको हो । विद्यालयले भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापन गर्न नसक्दा भर्ना हुन आउने विद्यार्थीलाई फिर्ता पठाउनुपर्ने बाध्यता छ ।

विद्यालयमा विद्यार्थी थपिदै गएपनि शिक्षक र भौतिक पूर्वाधार नथपिदा पठनपाठन प्रभावित बनेको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो । ‘विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर राम्रो भएकाले विद्यालयप्रति आकर्षण बढेका कारण वर्षेनी सयौं विद्यार्थीहरुले भर्ना हुन आवेदन दिने गरेका छन् । तर आवेदन दिएका मध्य सवै जनालाई भर्ना लिनसक्ने अवस्था विद्यालयको छैन’, प्रअ श्रेष्ठले भन्नुभयो ।

वर्षेनी विद्यार्थी संख्या वढ्दै जानु र त्यही अनुपातमा शिक्षक र कक्षा कोठाको व्यवस्थापन गर्न नसक्दा पठनपाठनमा समस्या भएको प्रअ श्रेष्ठले बताउनुभयो । आधरभूत तहको ६ देखि ८ सम्मका लागि गणित,सामाजिक,नेपाली र स्वास्थ्य जनसंख्या विषय पढाउने ४ जना शिक्षक अभाव छ ।

त्यसैगरी मावि तहको ९ र १० का लागि अंग्रेजी र गणित शिक्षक गरी दुईजना शिक्षक आवश्यकता छ भने कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा गरी ५ जना शिक्षक अपुग भएको विद्यालयले जनाएको छ । कक्षा ११ र १२ मा दुईसय २७ जना विद्यार्थी अध्ययनरत छन् ।

अहिलेको विद्यार्थीको अनुपातमा सहज तरिकारले पठपाठन गराउन ८ वटा कक्षा कोठा र विभिन्न विषयका गरी ११ जना शिक्षकको आवश्यकता भएको विद्यालयका प्रअ श्रेष्ठले बताउनुभयो । यो वर्ष मात्र विभिन्न तहमा गरेर पाँचसयको हाराहारीमा विद्यार्थीहरुले भर्नाका लागि आवदेन दिएका थिए प्रअ श्रेष्ठले भन्नुभयो ‘शिक्षक दरबन्दी र कक्षा कोठाको अभावका कारण दुईसय विद्यार्थीलाई मात्र भर्ना लियौं । वाँकीलाई फिर्ता गर्नुपर्ने बाध्यता भयो ।’

‘हामी सँग शिक्षक र कक्षा कोठा उपलब्ध भएको भए आवदेन परेका सवैजनालाई भर्ना लिन्थ्यौं,’ प्रअ श्रेष्ठले भन्नुभयो । शैक्षिक गुणस्तर राम्रो भएकाले सरकारले २०६९ सालमा यस विद्यालयलाई देशकै सर्वोत्कृष्ट विद्यालयका रुपमा घोषित गरेको थियो । सर्वोत्कृष्ट विद्यालय घोषित भएपछि विद्यालयप्रति अभिभावकको आकर्षण बढेको उहाँको भनाई छ ।

एकहजार १ सय ३९ जना विद्यार्थीले पठनपाठन गर्ने विद्यालयमा हाल स्थायी दरबन्दीका १२,राहत शिक्षक ८ र विद्यालयको निजी स्रोतबाट तलब खुबाउने ९ गरी २९ जना शिक्षकहरु कार्यरत छन् । शिक्षक अभावका कारण एक सेक्सनमा ७० जना विद्यार्थी सम्म राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रअ श्रेष्ठले बताउनुहुन्छ ।

सम्बन्धित निकायमा शिक्षक र कक्षा कोठाको व्यवस्थापन गरिदिन पटक पटक अनुरोध गरेपनि सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो । शिक्षक दरबन्दी मिलान गर्न आवश्यक गृहकार्य भइरहेको बेनी नगरपालिकाका शिक्षा उपसचिव शिवप्रसाद रेग्मीले बताउनुभयो ।

विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी मिलान गर्न लागिएकाले अहिले समस्या चाँढै समाधान हुने उहाँले बताउनुभयो । कुनै कुनै विद्यालयमा शिक्षक धेरै र कही थोरै छन् उहाँले भन्नुभयो ‘समानताका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।’