म्याग्दीमा तिनजना जनप्रतिनिधिले रोजे एकिकृत समाजवादी

विकल्प न्यूज/बेनी
भदौं २२ गते ।
म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
मंगलबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बेनी नगरपालिकाका कार्यापालिका सदस्य द्धाय कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की र धौलागिरि गाउँपालिका कार्यापालिका सदस्य देउप्रसाद छन्त्यालले एकिकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उनीहरु नेकपा एमालेको जिल्ला कमिटिको सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । निर्वाचन आयोगले दिएको समय भित्रै आफूहरुले नव गठित नेकपा (एकिकृत समाजवादी) को पक्षमा सनाखत गरेको सो पार्टीका जिल्ला नेता विश्वकर्माले बताउनुभयो ।

निर्वाचन कार्यालयमा सनाखत गरेपछि सो पार्टीले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले भदौं ३० गते आयोजना गर्ने जिल्ला भेलाबाट जिल्ला कमिटि घोषणा गर्ने बताउनुभयो । ‘आजबाट पार्टी निर्माणको जग बसालेका छौं, जिल्ला कमिटि घोषणा पछि जिल्लामा संगठन विस्तार अभियान चलाउँछौं ’ विकले भन्नुभयो । ‘हामीले थोरै भएपनि जिल्लामा विद्रोहको झण्डा उठाएका छौं, न्याय र सत्यको जित एकदिन हुन्छ । आज कतिपय साथीहरुले हामीलाई छाड्नुभएको छ तर उहाँहरु आउने ठाउँ भने यहि पार्टी हुनेछ ’ विकले भन्नुभयो ।

पछिल्लो समय नेकपा एमालेमा गुटबन्दी मौलाएको र पार्टी विचारबाट भन्दा पनि व्यक्तिको मनोमानीबाट चल्न थालेका कारण एमाले परित्याग गर्नुपरेको धौलागिरि गाउँपालिकाका कार्यापालिका सदस्य तथा नेकपा एमाले धौलागिरि गाउँपालिका कमिटि अध्यक्ष समेत रहनुभएका छन्त्यालले बताउनुभयो ।  एमाले जनताको पार्टी हुननसकेका कारण आफूले सो पार्टी परित्याग गर्नुपरेको बेनी नगरकार्यापालिका सदस्य दुर्गा कार्कीले बताउनुभयो ।

अन्तिम समयमा फकाउन पुगे नेकपा एमालेका अध्यक्ष र सचिव

नयाँ पार्टीमा सनाखत गर्न जिल्ला निर्वाचन कार्यालयमा पुगेका तिनजनालाई अन्तिम अवस्थामा भएपनि पार्टीमा फर्काउन नेकपा एमालेका अध्यक्ष र सचिव बालकृष्ण सुवेदी निर्वाचन कार्यालयमै पुग्नुभएको थियो । उहाँहरुले दुवैजनाले सनाखत गर्न पुग्नुभएका कृष्ण विक,दुर्गा कार्की र देउप्रसाद छन्त्याललाई विभाजनको पक्षमा नलागी मुल पार्टीमै फर्किन अनुरोध गर्नुभएको थियो ।

निर्वाचन कार्यालयमा करिब एक घण्टा दुवै पक्षविच छलफल समेत भएको थियो । तर उहाँहरुले आफ्नो विचारमा कुनै परिवर्तन नहुँने र नेकपा एकिकृत समाजवादीका पक्षमा सनाखत गर्ने बताएपछि निराश भएर श्रेष्ठ र सुवेदी फर्किनुभएको थियो ।