ताजा समाचार:
Search

किन निर्वाचित हुनसकेनन् काँग्रेसको वडा सभापतिमा महिला ?

विकल्प न्यूज\बेनी
भदौं २० गते ।

म्याग्दीमा शुक्रबार नेपाली काँग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको छ । ४५ वडा रहेको जिल्लामा ४४ वटामा नयाँ नेतृत्व चयन भइसकेको छ । ति सवैमा पुरुष सभापति निर्वाचित भएका छन् । भने क्रियाशिल सदस्य नविकरण नभएका कारण अन्नपूर्ण १ दोवामा अधिवेशन स्थगित भएको छ ।

पछिल्लो समय राजनीतिप्रति महिलालाई प्रोत्साहन गरेपनि नेतृत्व तहमा भने अझै महिला पुग्न सकेका छैन । दलहरुमा अझै पुरातन सोच विचार हावी भएकाले महिलाहरु नेतृत्वमा आउन नसकेको म्याग्दी बहुमुखी क्याम्पसकी उपप्रध्यापक रेखाकौशल रेग्मी बताउनुहुन्छ ।

हाम्रा राजनीतिक दलहरु काँग्रेस र कम्युनिष्ट पुरातन विचारबाट सञ्चालित भएकाले पनि महिलाहरुले नेतृत्वमा अवसर पाउन कठिन भएको उहाँको भनाई छ । ‘महिलालाई अगाडि बढाएर नेतृत्वमा ल्याउनुपर्दछ भन्ने सोच दलका नेताहरुमा छैन । पद पुरुषलाई नै पुग्न सकेको छैन । कहाँबाट महिला नेतृत्वमा आउनसकुन’ उहाँले भन्नुभयो ।

दलहरुले महिलालाई राजनीतिमा आउन उत्प्रेरणा दिने,प्रशिक्षित गर्ने र महिलालाई राजनीतिक रुपमा शसक्तिकरण गर्ने नीति कुनैपनि दलमा छैन उपप्रध्यापक रेग्मीले भन्नुभयो ‘महिलाहरुलाई नेतृत्वमा ल्याउने र अगाडि बढाउने पार्टीहरुमा ठोस नीति छैन ।

अर्को कुरा महिलाले आफूलाई राजनीतिमा सुरक्षित महशुष गर्न सकेका छैनन् ।’ राजनीतिमा लागेका कारण महिलाहरुलाई हेर्ने दृष्ट्रिकोण हाम्रो समाजमा फरक भएकाले पनि महिलाहरु राजनीतिमा आउन उत्साहित नभएको उहाँको भनाई छ ।

राजनीतिमा लागेका महिलाहरुलाई हाम्रो समाजमा अझै सम्मान गर्ने संस्कारको विकास भएको छैन रेग्मीले भन्नुभयो ‘राजनीतिमा लागेका महिलालाई हौसला प्रदान गर्नुको सट्टा उपेक्षा र तिरस्कार गर्ने हाम्रो संस्कारमा परिवर्तन नआए सम्म महिलाहरु नेतृत्वमा पुग्न सक्दैनन् ।’

सैद्धान्तिक रुपमा बलियो भएर राजनीतिमा अगाडि बढ्न महिलाहरु आफैमा पनि आत्मविश्वासको कमि भएको उहाँले बुझाई छ । राजनीतिमा अवसर हुँदाहुँदै पनि महिलाहरु चुनौतीको सामाना गर्न नसक्दा पछाडी परेको उहाँको बुझाई छ । ‘अर्को कुरा महिलालाई राजनीतिक संरक्षण गर्ने परिपाटी दलहरुमा विकास भएको छैन । सामुहिक भावना छैन । राजनीतिमा लागेका महिलाले आफूलाई सुरक्षित महशुष गर्न सक्दैनन् । त्यसकारण महिलाहरु राजनीतिमा सक्रिय नभएको हुनसक्छ’ उहाँले भन्नुभयो ।

काँग्रेसको विधानमा गाउँपालिका वडा समितिमा ३ र नगर वडा समितिमा ४ र जिल्ला कार्यसमितिमा ४ जना महिला सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । यही व्यवस्थालाई टेकेर महिलाहरु वडा समिति,गाउँ तथा नगर र जिल्लाको नेतृत्व तहमा निर्वाचित हुन्छन् ।