म्याग्दीमा काँग्रेस महाधिवेशन : नयाँ नेतृत्वकाे लागि सरगर्मी बढ्याे

विकल्प न्युज/ बेनी

भदौ १६ गते । नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४ औँ महाधिवेशनको तिथि नजिकिदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।

कांग्रेस को केन्द्रिय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ । एक संघीय, दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी असाेज पहिलो साताभित्र काँग्रेसले सबै तहमा नयाँ नेतृत्व पाउने भएकाले यतिबेला म्याग्दी काँग्रेसका नेता तथा कार्यकर्ताहरु उत्साहि देखिएका छन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार देशभरका सबै वडाहरुमा भदौ १८ मा काँग्रेसको नेतृत्व चुनिनेछन् ।

वडामा चुनिने नेतृत्व संगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधि समेत छनौट हुने भएकाले जिल्लाको नेतृत्वदायि पदहरुमा आकांक्षि देखिएका नेताहरु समेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।

पार्टी केन्द्रले म्याग्दीमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत निरञ्जनराज भण्डारी निर्वाचन सामाग्री सहित जिल्लामा आएर आबश्यक तयारी सुरु गरिसक्नुभएको छ ।

म्याग्दी काँग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई परिचालन गर्ने निर्णय गरेको र सोहि बमोजिम वडा वडामा तयारी सुरु भैसकेको जिल्ला उपसभापति माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘

‘पार्टीको तर्फबाट सम्बन्धित तहका नेता, कार्यकर्ताहरुलाई जानकारी गराउने काम भैसकेको छ, पार्टी केन्द्रबाट क्रियाशिल सदस्यता टुगीएर आइसकेको छ, मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकहरुलाई आबश्यक प्रशिक्षण र सहजीकरण गरेपछि आबश्यक सामाग्री सहित सबै वडामा निर्वाचन टोली परिचालन हुन्छन्’’– उहाँले भन्नुभयो । जिल्ला बाहिर रहेका पार्टीका नेताहरु समेत वडा अधिवेशनको लागि गाउँ फर्किएपछि चलहपहल समेत बढेको छ ।

वडा तहमा निर्वाचन अधिकृतहरुको टुंगो लगाइसकिएको र उहाँहरुलाई पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृत मार्फत आबश्यक निर्देशन सहित निर्वाचन सामाग्री सहित परिचालनको तयारी भएको जिल्ला सहसचिब भरत बहादुर रकालले जानकारी दिनुभयो ।

म्याग्दीमा वडा अधिवेशनमा कुल २ हजार ८ सय ३९ जनाले भाग लिन पाउने छन् । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशिल सदस्यहरुको विवरण अुनसार, म्याग्दी काँग्रेसमा पुराना नविकरण भएका १ हजार ८४ जना र नयाँ थप भएका १ हजार ७५५ जना क्रियाशिल सदस्यहरुले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मतदानको अधिकार पाउने जिल्ला पार्टी प्रवत्ता अजयमिलन श्रेष्ठले बताउनुभयो ।

काँग्रेसले सार्वजनिक गरेको क्रियाशिल सदस्यता विवरण अुनसार, बेनी नगरपालिकामा १ हजार ५४जना, रघुगंगा गाउँपालिकामा ४२१ जना, अन्नपूर्ण गाउँपालिकामा ३५८ जना, मंगला गाउँपालिकामा ४५९ जना, मालिका गाउँपालिकामा २७७ जना र धवलागिरि गाउँपालिकामा २७९ जना क्रियाशील सदस्य रहेका छन् ।

हरेक वडामा हुने अधिवेशनका लागि सहमतीमा सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने र सहमती नभएमा चुनाब बाट चुन्ने गरि निर्वाचन समितिले तयारी गरेको छ ।

काँग्रेसमा नयाँ संरचनामा पहिलो पटक हुन लागेको महाधिवेशनमा वडा, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिमा समेत अधिकाँश पद प्रत्येक्ष निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ ।

तीनै तहमा सभापति एक जना, उप–सभापति, सचिब र सह–सचिब दुई/दुई जना प्रत्येक्ष निर्वाचित हुने र निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनित गर्ने गरि पदाधिकारीको छनौट गर्ने नयाँ प्रावधान राखिएको छ ।
वडा अधिवेशनले वडाका ८ जना पदाधिकारी र सदस्य समेत गरि २३ जनाको कार्यसमिति चयन गर्नेछ । यसमा वडा सभापतिले २० प्रतिशत सम्म सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।

त्यसैगरि वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ जना र सभापती समेत गरि १६ जनालाई प्रतिनिधिको रुपमा छनौट हुनेछन् ।

वडाबाट छनौट भएका निर्वाचन प्रतिनिधिहरुले पालिका र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनमा भाग लिने प्रवत्ता श्रेष्ठले बताउनुभयो ।

पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि नै निर्णायक हुने भएकाले यतिबेला वडा स्तरमा व्यापक बहस र छलफलले व्यापकता पाएको छ । आगामी नेतृत्वका लागि जिल्लामा स्पष्ट दुई धारमा प्रतिस्पर्धा हुने संकेत देखिएपछि दुबै पक्षले आफ्नो पक्षका नेता कार्यकर्ताहरुलाई प्रतिनिधिमा जिताएर ल्याउन आन्तरिक कसरत सुरु गरेका छन् ।

यस अघिको तत्कालिन गाविसहरुमा समिति र प्रतिनिधि चयनमा घतान, घार, राम्चे, भकिम्ली लगायतका ठाउँमा केहि पदहरुमा निर्वाचन भएपनि अधिकाँश गाउँ स्तरीय समितिहरुमा सर्वसम्मत रुपमा नेतृत्व र जिल्ला प्रतिनिधि चुनिने गरेका छन् ।

यस पटक जिल्लामा काँग्रेसको बढ्दो शक्तिका कारण वडा तहमा निर्वाचनहरु हुन सक्ने काँग्रेसजनहरुको आंकलन छ । काँग्रेसले गाउँ/नगरको भदौ २८ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते र एक निर्वाचन क्षेत्र रहेका जिल्लाको असोज ५ गते अधिवेशनको कार्यतालिका बनाएको छ ।

काँग्रेसको जिल्ला नेतृत्वमा आधा दर्जनको दावेदारी छ । वर्तमान सभापति खमबहादुर गर्वुजा( खमवीर), निवर्तमान सभापति एवम् संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिब मिनबहादुर कार्की, पूर्व सहसभापति नेत्रबहादुर महत, महाधिवेशन प्रतिनिधि चिरञ्जिवी शर्माले सभापतिमा दावि गर्नुभएको छ । यद्यपी अधिवेशनको मिति नजिकिएसंगै सभापतिका आकांक्षिहरुबिचमै पनि छलफल सुरु भएकाले अन्तिममा सहमती नभएमा वर्तमान सभापती गर्वुजा र निवर्तमान सभापति बानियाँको बिचमा मात्रै चुनाब हुनसक्ने आंकलन काँग्रेस नेता तथा कार्यक्रतामा छ ।

जिल्ला अधिवेशनले जिल्लाको नेतृत्व संगै केन्द्रिय महाधिवेशनको लागि २५ जना महाधिवेशन प्रतिनिधि समेत चयन गर्नेछ । रासस