कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई शान्तिकोषको सहयोग

विकल्प न्यूज/बेनी
भदौं १४ गते ।

 आइतबार राती कालिपुलमा आएको पहिरोका कारण बसेको होलमा छाल आउँदा सवै गुमाएर पीडित बनेका जुम्लाका ५ जना व्यवसायीहरुलाई परोककारी संस्था ओमकुमारी शान्तिकोषले राहत सहयोग गरेको छ । जुम्ला सिंजा गाउँपालिकाका घर भई बेनीमा जडीबुटी र कस्मेटिक व्यवसाय गर्दै आएका पाँचजना व्यवसायीहरुलाई शन्तिकोषले ३० हजार रुपैयाँ नगद र १० हजार बराबरको खाजा र लत्ताकपडा सहयोग गरेको कोषका कोषाध्यक्ष विनयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कालिपुलको स्थानीय टंक बहादुर पुनको होटलमा वास बसेका पाँचजनाको करिब ६ लाख बराबरको क्षति पुगेको छ । ‘हाम्रो पैसा,जडीबुटी,कस्मेटिक सामान,कपडा र मोवाइल समेत छालले बगायो जुम्ला सिंजा गाउँपालिकाका विरबहादुर रावतले भन्नुभयो, ‘दुःख गरेर कमाएको सवै बग्यो, हामी सवैको गरेर करिब ६ लाख बराबरको क्षति भएको छ । हामी सँग घर जाने पैसा समेत छैन । शान्तिकोषले घर सम्म जानका लागि केही आर्थिक सहयोग गरेको छ ।’

‘कालिपुलमा पहिरो पीडित पाँचजना अलपत्र परेका छन् भन्ने म्याग्दीका पूर्व प्रजिअ उमाकान्त अधिकारीले खबर गर्नुभयो र हामी शान्तिकोषका पदाधिकारी पुगेर पीडितलाई भेट्यो । घर सम्म पुग्नका लागि सहज होस भनेर केही आर्थिक सहयोग गरेका छौं’, शान्तिकोषका सचिव लोकेश पुन मगरले भन्नुभयो ।

पहिरो खसेर छाल आउँदा कालिपुलका १० घरमा क्षति पुगेको छ भने तीन जना घाइते भएका छन् ।