आन्तरिक छलफलमा जुट्यो म्याग्दीमा माधव समुह

नवविकल्प डेस्क/ बेनी
भदौं १३ गते ।

नेकपा एमाले भित्रको आन्तरिक विवादका विच अन्ततः पार्टी विभाजन भएको छ । वरिष्ठ नेता माधव नेपालले अघिल्लो हप्ता नेकपा (एकिकृत समाजवादी) पार्टी निर्वाचनमा दर्ता गर्नुभएको छ । पार्टी दर्ता भएसँगै एमाले कानूनी रुपमा विभाजन भएको छ । एमाले हुँदा माधव समुहलाई साथ दिएका केन्द्रका अधिकांश नेताहरुले नेपाललाई साथ दिनन् । माधव समुह भित्र रहेका दोस्रो पुस्ताका नेताले साथ नदिएपछि तेस्रो पुस्ताका साथ लिएर नेपालले नयाँ पार्टीलाई अगाडि बढानुभएको छ ।

केन्द्रमा नयाँ पार्टी दर्ता भएसँगै जिल्लामा पनि विभाजनको संकेत देखिएको छ । हिजो माधव नेपाल समुहमा रहेका जिल्लाका नेताहरुले नयाँ पार्टी रोज्लान वा पुरानैमा पार्टीमा फर्किएलान भन्ने चासो बढेको छ । जिल्लामा माधव समुहमा रहेकाहरु यतिखेर आन्तरिक छलफलमा व्यस्त छन् । हिजो नेकपा एमालेको जिल्ला सचिवालयमा रहेका कृष्णकुमार विश्वकर्मार देउप्रसाद छन्त्याल मात्र अहिले सम्म नयाँ पार्टीमा खुल्नुभएको छ ।

माओवादी र नेकपा एमाले मिलेर बनेको नेकपामा दुई वर्षमै विवाद उत्पन्न भयो । विवादका विच गत पुस ५ गते पहिलो पटक संसद विघटन भएपश्चात नेकपामा प्रचण्ड र माधव समुह एकै ठाउँमा उभिए । त्यसको असर म्याग्दीमा पनि प¥यो ।
संसद विघटन विरुद्धमा जिल्लामा माधव समुह र प्रचण्ड समुहले आन्दोलन गरे । गत फागुन २३ गते अदालतले एकतालाई खारेज गर्दै साविककै एमाले र माओवादी ब्युँताएपछि पनि एमालेमा आन्तरिक विवादले झन ठूलो रुप लियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको विपक्षीमा माधव समुह उभियो र फेरी दोस्रो पटक संसद विघटन हुनपुग्यो । जसका कारण झन एमालेमा विवादले चर्को रुप लियो ।

माधव समुहले एकताका लागि राखेको प्रस्ताव पार्टी संस्थापन पक्ष सहमत नभएको भन्दै वरिष्ठ नेता नेपालको नेतृत्वमा नयाँ पार्टी स्थापना भएको छ । पार्टी दर्ता भएसँगै म्याग्दीमा पनि पार्टी गठनको प्रयास गरिएको छ । हिजो माधव समुहमा रहेर राजनीति गरेका नेता तथा कार्यकर्ताहरु यतिखेर आन्तरिक छलफलमा जुटेका छन् ।

विगतमा माधव समुह जिल्लामा अलि कमजोर नै हो । पार्टी विभाजन भएसँगै झन कमजोर हुने देखिएको छ । तर पार्टी पुर्नगठन भयो भने जिल्लामा कमजोर रुपमा लिन नहुँने माधव समुहका नेताहरुको भनाई छ । पुराना र राजनीतिक वैचारिक नेतृत्वमा रहेका व्यक्तिहरुको साथ नयाँ पार्टीलाई मिल्ने विकले आशा व्यक्त गर्नुभयो ।

अहिले पार्टीका प्रभावशाली नेताहरु एमालेमै रहेका छन् । भने माधव नेपाल समुहको नेतृत्व गर्नुभएका सचिव बालकृष्ण सुवेदी एमालेमै रहेर आन्तरिक संघर्ष गर्ने जनाउ दिनुभएको छ । त्यस्तै युवा नेता राजकुमार थापाले पनि एमालेमै रहने संकेत गर्नुभएको छ । यद्धपी दुवैजनाले अझै सम्म ठोस निर्णय भने गरेका छैनन् ।

माधव समुहमा खरो तरिकारले लाग्नुभएका एमालेका जिल्ला सचिवालय सदस्य विश्वकर्मा भने नयाँ पार्टीमा जाने प्रष्ट रुपमा बताइसक्नुभएको छ । सत्य र न्यायको पक्षमा आफू एक्लै भएपनि नयाँ पार्टीलाई अगाडि बढाउने उहाँले बताउनुभयो । माधव समुहमा रहेका जिल्लाका अर्को नेता देउप्रसाद छन्त्याल पनि नयाँ पार्टीमा उभिनुभएको छ ।
गण्डकी प्रदेश कमिटि सदस्य तथा महिला नेतृ मुना बानियाँ पनि नयाँ पार्टीमा जाने बताइएको छ ।

हिजो जिल्लामा हुँदा पार्टीको विभिन्न तहमा रहेर काम गरेका र हाल जिल्ला वाहिर तथा विदेशमा रहेका ठू्रलो पंक्तीले नेकपा (एकिकृत समाजवादी) लाई साथ दिने बुझिएको छ । ‘हामी सँग हिजो पार्टीको विभिन्न तहमा रहेर काम गर्नुभएका र हाल विभिन्न कारणले जिल्ला वाहिर हुनुभएका साथीहरुको साथ र सहयोग नयाँ पार्टीलाई छ ’ विकले भन्नुभयो ।
शुक्रबार माधव समुहमा रहेका नेताहरुले जुम मार्फत भर्जुअल वैठक गरेका छन् । वैठकले स्थानीय तह र विभिन्न जनवर्गीय संगठनको जिम्मेवारी तोकीएको नेता विश्वकर्माले जानकारी दिनुभयो । वैठक निकै उत्साजन रुपमा सम्पन्न भएको छ विश्वकर्माले भन्नुभयो ‘हिजो देखि माधव समुहलाई साथ दिएका अधिकांश नेता तथा कार्यकर्ताहरुको भावना नयाँ पार्टीलाई अगाडी बढाउनेमा छ ।’

‘केही नेताले खुट्टा कमाउनुभएको छ तर युवा पंक्ति र कार्यकर्ताको भावना एमालेमा रहन नसकिने भनाई आएको छ’ उहाँले भन्नुभयो । वाँकी छलफल गरेर अगाडी बढ्नका लागि सोमबार फेरी जुम मार्फत वैठक हुने र भदौं २६ गते जिल्ला भेलाको आयोजना गर्ने र जिल्ला कमिटि निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

केही नेताहरु एमालेमा वसे पनि हिजो साथ दिएका युवा पंक्ति र कार्यकर्ताले भने नयाँ पार्टी नै रोज्ने देखिएको छ । जिल्लाका स्थानीय तहका प्रमुख,उपप्रमुख र वडा अध्यक्षहरुले नयाँ पार्टी अहिले सम्म रोज्नुभएको छैन । उहाँहरु अधिकांश एमालेमै रहने बुझिएको छ । आइतबारको नवविकल्प साप्ताहिकमा प्रकाशित