तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाको अभियान

विकल्प न्यूज/बेनी
भदौं ११ गते ।

तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका छन् ।
शुक्लागण्डकी नगरपालिका ५ तनहुँ निवासी ९ महिनाका बालक महम्मद उस्मान अलिको उपचारमा सघाउन बेनीको शिवालय बालक्लबले आर्थिक संकलन गरेको हो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचारहरु सार्वजनिक भएपछि हाम्रो मन छोयो क्लबका अध्यक्ष अभिषेक पौडेलले भने, ‘हामीले पनि सक्दो सहयोग गर्नुपर्दछ भनेर सहयोग जुटाउन लाग्यौं ।’

अलि स्पाईरल मस्कुलर एट्रोफी रोगबाट ग्रसित ति बालकको उपचार अत्यन्तै महंगो पर्ने र परिवारको आर्थिक स्रोतबाट सम्भव नभएकाले आर्थिक संकलन अभियान सञ्चालन गरिएको हो ।

क्लबले बेनी बजारमा संकलन गरेको ५ हजार ६ सय १० रुपैयाँ बर्रगटी युथक्लबका सदस्य जाकिर खान र प्रवेश खानलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष पौडेलले जानकारी दिए । क्लबमा आवद्ध बालबालिकाहरु स्वतस्फुर्त रुपमा जुटेर आर्थिक संकलन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

पैसाकै अभावमा उपचार नपाएर बालकले मृत्युबरण गर्नुपर्ने अवस्था आउनु दुःखद हो पौडेलले भन्नुभयो, ‘देशभरका बालबालिका सक्रिय भएर रकम जुटाउन सके मृत्युको मुखमा पुगेका बालकलाई नयाँ जिवन दिन सक्छौं ।’ ‘त्यसैले सवैजना मिलेर आर्थिक सहयोग गरौं र बालकलाई बचाऔं’ पौडेलले भने ।