मोटर बाटो नभएको जग्गा धितो राखेर ऋण पाइने

८ भदौ, काठमाडौं । 

अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो ।

जग्गा धितोमा ऋणी लगानी गर्दा मोटरबाटो नभएका जग्गाहरु बैंकको प्राथमिकतामा पर्दैन थिए । १ करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ ।

यस किसिमका ऋण माग भइ आए विलम्ब नगर्न समेत राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

‘प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भए सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ’ निर्देशनमा भनिएको छ । onlinekhabar