म्याग्दीका एसएलसी परिक्षा केन्द्र छात्रामैत्री बनाइने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ चैत ।
आगामी बिहीबारदेखि सुरु हुने यस वर्षको प्रवेशिका परिक्षा (एसएलसी) केन्द्रलाई छात्रामैत्री बनाइने भएको छ । परिक्षा केन्द्रहरुमा प्राथमिक उपचारका सामाग्री सहित स्वाथ्यकर्मी पनि परिचालन हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

एसएलसीको समयमा छात्राहरुमा महिनावारी हुदा परिक्षा दिन असहज नसोस भनेर परिक्षाकेन्द्रहरुमा सेनेटरी प्याडको ब्यवस्था गरीएको कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले बताउनुभयो । सेनेटरी प्याडको ब्यवस्था भएपछि छात्राहरुलाई परिक्षा दिन सहज हुने अपेक्षा गरिएको छ ।DSC01981

जिल्ला बाल सञ्जाल र बालकल्याण समितिले नौ वटा परिक्षा केन्द्रमा १०२ वटा सेनेटरी प्याडको साथमा साबुन उपलब्ध गराएका हुन् । जिल्ला बाल सञ्जालका अध्यक्ष शिव बिकले सोमबार जिशिअ रामप्रसाद अधिकारी मार्फत साबुन र प्याड केन्द्रमा उपलब्ध गराउनुभएको हो ।

यसैगरी परिक्षाको समयमा विद्यार्थीहरुमा आउन सक्ने स्वास्थ्य समस्याको प्राथमिक उपचारका लागि केन्द्र परिसरमा नजिकको स्वास्थ्य संस्थाबाट आवश्यक सामाग्री सहित स्वास्थ्यकर्मी पनि परिचालन गर्न जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय भएको जिशिअ अधिकारीले जानकारी दिनुभयो ।

परिक्षाको तयारीबारे जानकारी दिन सोमबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जिशिअ अधिकारीले एसएलसीलाई शान्त, स्वच्छ र मर्यादीत बनाउन सबै पक्षलाई अनुरोध गर्नुभयो । एसएलसी परिक्षा सञ्चालनका लागि यस वर्ष ७ वटा सम्बन्धित विद्यालयका मावि तहका स्थाई दरबन्दि भएका प्रअ र दुई वटा केन्द्रका प्रअको योग्यता नपुगेकाले अन्य विद्यालयका मावि स्थाई दरबन्दिका प्रअलाई केन्द्राध्यक्ष नियुक्त गरिएको छ ।

बेनी सामुदायीक उच्च माविमा जनप्रिय उच्च माविकी शान्ति सुवेदी र न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि केन्द्रमा गलेश्वर उच्च माविका विज्ञान शिक्षक त्रिबिक्रम सुवेदी केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । हेम उच्च मावि शिवाङमा शेरबहादुर केसी, जनप्रिय उच्च दरवाङमा दिवाकर सुवेदी, मंगला उच्च मावि बाबियाचौरमा गमबहादुर केसी, धौलागिरी मावि सिंगामा केशवप्रसाद रेग्मी, प्रकाश उच्च मावि बेनीमा हरिकृष्ण सुवेदी, मुक्तिधाम उच्च माविमा अमरबहादुर केसी र मुक्तिमार्ग उच्च मावि घारमा रामचन्द्र गिरीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

सहायक केन्द्राध्यक्ष, निरिक्षक, सुरक्षाकर्मी, अनुगमनकर्ता र सहयोगी गरेर तिन सय जना जनशक्ति परिचालन हुने म्याग्दीको एसएलसी परिक्षाको स्रोत केन्द्र, जिल्ला र मन्त्रालय तहबाट अनुगमन गर्ने योजना बनाइएको जिशिअ अधिकारीले जानकारी दिनुभयो । परिक्षा सामाग्रीहरु केन्द्रसम्म पठाउने क्रम सुरु भएको छ । यस वर्ष म्याग्दीका ५८ वटा सामुदायीक, दश वटा निजी, एक वटा खुल्ला र एक वटा प्राबिधिक विद्यालयका दुई हजार ५६३ जना विद्यार्थी एसएलसीमा सहभागि हुने शिक्षा कार्यालयले जनाएको छ ।

जस मध्य नियमिततर्फ दुई हजार ३६१ र एक्जाम्टेडतर्फ १०२ जना रहेका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो । एसएलसीका लागि आवेदन भएका ४८ जना विद्यार्थीको विभिन्न कारणले हाजीरी नपुगेकाले परिक्षामा सहभागि हुनबाट बञ्चित भएका छन् ।