ताजा समाचार:
Search

खेलकुद परिषद्‌को उपाध्यक्षलाई कारबाही गर्ने खेलकुद मन्त्रीकाे चेतावनी

साउन १४ गते । 

काठमाडौँ- गण्डकी प्रदेशका प्रदेश खेलकुद परिषद्‌का उपाध्यक्ष नारायण पुनलाई प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ । प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले यसअघि पनि उपाध्यक्षको उपस्थिति नभएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले आफनो पूर्व स्वकीय सचिवलाई उपाध्यक्षमा नियुक्त गरेकी थिइन् । तर, नियुक्त भएदेखि उपाध्यक्ष पुन बेलायतमै छन् । उनको सपथसमेत भएको छैन । परिषद्‌ गठनको झण्डै पाँच महिना पुग्यो ।

मन्त्रालयले पुनलाई लक्षित गर्दै ‘किन कारबाही नगर्ने ?’ भन्दै कारण खुलाई स्पष्टिकरणसहित सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ ।

प्रदेशको निर्माणाधीन भवनको अनुगमन गर्ने क्रममा प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए,  ‘प्रदेश खेलकुद परिषदको उपाध्यक्ष अहिलेसम्म मैले देखेको छैन । कस्तो हुनुहुन्छ । कहाँ हुनुहुन्छ त्यो पनि थाहा छैन । ’

तेजबहादुर गुरुङलाई परिषद्‌को सदस्य सचिव नियुक्त गरिएको थियो ।

तत्कालिन सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेश खेलकुद परिषद गठन गरेको थियो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै पुनलाई नियुक्त गरिएको थियो ।

तत्कालिन सामाजिक विकास मन्त्रीले चाकरीकै भरमा विदेशमा रहेको व्यक्तिलाई परिषद्को उपाध्यक्ष बनाएको आरोप छ ।

मन्त्री गुरुङले उपाध्यक्ष पुनसँग गैरआवासीय नेपाली रहेको पाइए उनलाई उपाध्यक्षबाट निष्काशन गर्नुपर्नेसमेत बताएका थिए । शपथ नै नलिएपछि खेलकुद परिषद्‌ले अझै पूर्णता पाउन सकेको छैन । सााभार ईकागज