म्याग्दीमा कांग्रेसका २८ सय क्रियाशिल सदस्य

विकल्प न्यूज/बेनी
साउन ५ गते ।

म्याग्दीमा नेपाली कांग्रेसका करिब १८ सय नयाँ क्रियाशिल सदस्य थपिएका छन् । कांग्रेसको वडा,गाउँ,नगर र जिल्लामा नयाँ नेतृत्व चयनका लागि अधिबेशन हुँदै छ । सोही प्रयोजनका लागि एक हजार ७० ले पुरानो सदस्यता नविकरण गरेका छन् भने १७ सय ९१ जना नयाँ क्रियाशिल सदस्य थपिएको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर (खम्बिर) गर्बुजाले बताउनुभयो ।

केन्द्रले केही सदस्यताको टुङ्गो लगाउन बाँकी रहेकाले अहिलेको संख्यामा केही वृद्धि हुने उहाँले बताउनुभयो । कांग्रेसले दिएको विवरण अनुसार अन्नपूर्ण गाउँपालिकामा ३ सय ९८,धौलागिरिमा २ सय ८०,मालिका २ सय ७६,मंगला ४ सय ३३,बेनी नगरपालिकामा १०४४ र रघुगंगामा ४ सय ३० जना क्रियाशिल सदस्य रहेका छन् ।

नेकपा एमालेको पकड मानिएको मंगला गाउँपालिकामा कांग्रेसले क्रियाशिल सदस्य बढाएको छ । अन्य गाउँपालिका भन्दा मंगलामा क्रियाशिल सदस्य धेरै देखिएका छन् । अव हुने संघ,प्रदेश र स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेसले संगठन निर्माणलाई जोड दिएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन आगमी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौमा हुनेछ । त्यसअघि साउन ६ गतेबाट तल्ला तहको अधिवेशन सुरु हुनेछ । जसअनुसार साउन ६ गते वडा अधिवेशन हुनेछ ।

त्यसैगरी साउन ११ गते गाउँपालिका र नगरपालिकाको, १६ गते प्रदेशसभा क्षेत्रीय, २० गते प्रतिनिधिसभा क्षेत्रीय र २४ गते जिल्ला अधिवेशन हुनेछ ।

त्यसैगरी भदौ १ र २ गते प्रदेश अधिवेशन हुनेछ । क्रियाशील सदस्यले वडा र गाउँ नगरको नेतृत्व छान्न मतदान गर्न पाउनेछन् । यसैगरी जिल्ला नेतृत्व चयनका लागि प्रत्येक वडा तहबाट १६ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।

जिल्ला सभापतिमा वर्तमान सभापति गर्बुजा,निर्वतमान सभापति तथा संविधानसभा सदस्य रेशम बानियाँ,सचिव क्या. मिनबहादुर कार्की र नेत्रबहादुर महत आकांक्षी देखिएका छन् । अन्तिममा गर्बुजा र बानियाँ विच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।