ताजा समाचार:
Search

लामो झोलुङ्गे पुलले जोड्यो पाखापानी र कोटगाउँ

ठाकुरप्रसाद आचार्य\विकल्प न्यूज
असार २५ गते ।

 म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका दुई वस्तीलाई जोड्ने गरी लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । पुलले पाखापानी र कोटगाउँको वस्तीलाई जोडेको छ । पुल नुहुँदा कोटगाउँका सर्वसाधरणहरु पाखापानी आउँन एकघण्टा भन्दा धेरै पैदल हिड्नुपर्ने बाध्यता थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानी स्थित घोप्टेखोलामा कोटगाउँलाई जोड्ने गरी २ सय ६५ मिटर लामो पुल निर्माण गरेको हो । पुल निर्माणका लागि हिमशिखर \जयलक्ष्मी जेभि बागलुङसँग भ्याट रकम बाहेक दुई करोड दुईलाख रुपियाँमा २०७६ चैतमा ठेक्का सम्झौता भएको थियो ।

झोलुङ्गे पुल निर्माण भएसँगै एकघण्टाको बाटो १५ मिनेटमा छोटिएको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । खोलानाला,भिरपहराबाट यात्रा गरेका सर्वसाधरणहरु पुल बनेसँगै आवतजावतमा सहज भएको उहाँले बताउनुभयो । पाखापानी गाउँमा रहेका विद्यालय,वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन कोटगाउँ र रायखोरकावासीहरुलाई पुल बनेपछि सहज भएको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।

कोरोना महामारीका समयमा पनि निर्माण व्यवसायीले स्वास्थ्य मापदण्ड पालाना गरेर निर्माण कार्यलाई निरन्तरता दिएका कारण एकमहिना अगावै पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताउनुभयो । निर्माण व्यवसायी र स्थानीयवासीको सक्रियताका कारण पुल सम्झौता अवधि अगावै सम्पन्न गर्न सहज वातावरण बनेको उहाँले बताउनुभयो ।

यसैगरी म्याग्दीमा यसवर्ष अन्य तिन स्थानमा पनि झोलुङ्गे पुल निर्माण भएको कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर केशब श्रेष्ठले दिएका जानकारी अनुसार मंगला गाउँपालिकाको सिमलचौर देखि लुलियाघाट जोड्ने गरी म्याग्दी नदीमाथि,अर्मनको खोलाखर्क र रघुगंगाको चिमखोलामा झोलुङ्गे पुल निर्माण भएका छन् ।

आगमी आर्थिक वर्षका लागि ८ वटा झोलुङ्गे पुल निर्माणको चरणमा रहेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । पुल निर्माण भएपछि करिब २० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने कार्यालयले जनाएको छ ।