म्याग्दीमा छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

 विकल्प न्यूज/बेनी
असार २३ गते ।


फाइल तस्विर

 म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ ।

खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो ।

घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताउनुभयो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधी र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको ब्यवस्थापनमा परिचालन भएका छन् ।

खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको बिबरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी ब्यवस्थापनमा जुटेको बताउनुभयो ।