मंगलामा ४२ करोड बढीको बजेट पारित

विकल्प न्यूज\बेनी
बेनी १० असार ।

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो ।

मंगलामा आगामी आर्थिक बर्षको लागि सामाजिक सुरक्षा भत्ता बाहेक कुल ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित भएको छ । उपाध्यक्ष केसीले प्रस्तुत गनुृभएको बजेटमा चालुतर्फ २१ करोड ५१ लाख, ९९ हजार र पुँजीगत बजेटमा २० करोड ६६ लाख २६ हजार विनियोजन भएको छ ।

गाउँसभामा प्रस्तुत गरि पारित भएको बजेटमा नेपाल सरकारको वित्तिय समानिकरण अनुदानतर्फ ८ करोड ४७ लाख, पुजीगत सम्पुरक अनुदान रु १ करोड ३९ लाख, विशेष अनुदान रु ९१ लख, संघीय विभाज्य कोषबाट पाप्त हुने राजश्व बाँडफाँडको रु ६ करोड ३ लाख २५ हजार, सशर्त अनुदान रु १९ करोड ७९ लाख बजेट स्रोत मानिएको छ ।

त्यसैगरि प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ९१ लख, प्रदेश राजश्व बाँडफाँडबाट रु ४३ लाख, प्रदेश सम्पुरक अनुदान रु १ करोड, आन्तरिक राजश्वबाट रु ७५ लाख र अनुमानित नगद मौज्दात रु २ करोड ५० लाख रकमलाई समेत बजेटमा समावेश गरिएको छ ।

गाउँसभामा अध्यक्ष रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको विकासलाई थप प्रभाबकारी बनाउने, जनताका गुनासा र समस्यालाई हल गर्न प्रयत्नरत रहने र स्थानीय समस्याको पहिचान र सम्भावनाको उजागरमा जोड दिईएको छ ।

गाउँसभाको उद्घाटन गर्दै जिसस प्रमुख देवेन्द्रबहादुर केसीले मंगला गाउँपालिकाले विकास निर्माण योजनाहरुलाई प्रभाबकारी कार्यान्वयनमा देखाएको तत्परता अन्य स्थानीय तहहरुको लागि समेत शिक्षा र अनुसरणयोग्य रहेकोमा जोड दिनुभयो ।

उहाँले स्थानीय तहहरुले विपद् व्यवस्थापन, विकास निर्माणको कार्यान्वयन, सेवा प्रवाह र महामारी नियन्त्रण लगायतका आफ्नो प्रभाबकारी भूमिका निर्वाह गरेको बताउनुभयो । गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, शिक्षा संयोजक डेकबहादुर बानियाँको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।