जलजलामा जुट्यो २० लाख बराबरको स्वास्थ्य सामग्री

विकल्प न्यूज\जलजला
जेठ १३ गते ।

 

कोरोना भाइरस संक्रमणको चपेटामा परेको पर्वतको उत्तरी जलजला गाउँपालिकामा लाखौं मुल्य बराबरका स्वास्थ्य सामग्री भित्रिएको छ ।
गाउँपालिका अध्यक्ष यामबहादुर मल्लको पहलमा सरकारी निकाय र दातृ संघ–संस्थाहरूले करिब २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो ।

संक्रमितको उपचारमा स्वास्थ्य सामग्री अभाव भएपछि काठमाडौ पुगेका मल्लले सामग्री ल्याएर पालिकामा फर्किएका छन् । गाउँपालिकाले नाग्लीवाङको फर्से र मल्लाजमा सञ्चालन गरेको आइसोलेसन लागि सरकारका मुख्य सचिव शंकरदास वैरागीसँग अनुुरोध गरेर सामग्री व्यवस्थापन गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

१० वटा अक्सिजन सिलिन्डर, २ वटा अक्सिजन कन्सन्टे«टर, १४ थान शय्या, २०० वटा पिपिई, ५०० वटा एन ९५ मास्क, ५०० थान बढी ग्लोब्स, मास्क, चश्मा, फेस सिल्ड, गाउनलगायत सामग्री व्यवस्थापन गरिएको छ ।

कोरोना संक्रमितको शव व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री पनि जुटाइएको छ । थपिएकासहित जलजलामा ४० वटा अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्टे«टर छन् । थप ५ वटा अक्सिजन कन्सन्टे«टर आउँदै छ । एन्टिजेन किट, भिटिएमलगायत सामग्री पनि प्राप्त भएको छ ।

 

कोरोना संक्रमितको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाउन सामग्री व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । जलजलामा मंगलबार साँझसम्म २९० जना कोरोना संक्रमित भएकामा ९६ जना निको, १० जनाको मृत्यु र १८४ जना सक्रीय संक्रमित छन् । २२६ वटा स्वाब नमुनाको रिपोर्ट आउन बाँकी छ ।

यसैगरी जलजला गाउँपालिकाले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको छ । १५०० भायल खोप उपलब्ध गराउन पत्राचार गरेको छ । खोप उपलब्ध गराउन नसके पालिकालाई आफ्नै खर्चमा खोप खरिद अनुमति मागेको छ । जलजलाको मल्लाज क्षेत्र कोरोनाको केन्द्र बनेको छ ।

जलजला गाउँपालिकाले लक्षण देखिएका र शंकास्पदको स्वाब नमुना संकलन गरि परीक्षणका साथै संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । संक्रमितको उपचारका लागि अस्पताल पुग्न अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको
छ ।

कोरोना नियन्त्रणका लागि विपद् व्यवस्थापन कोष स्थापना गरेर सहयोग संकलन अभियानलाई निरन्तरता दिइएको छ । स्वदेश तथा विदेशबाट विभिन्न दाताहरूले जिन्सी तथा नगद सहयोग गरिरहेका छन् ।