स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जनाले कोराना जितेर घर फर्किए

विकल्प न्यूज/बेनी
जेठ ७ गते । 

स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन् ।

विहिवार र शुक्रबार गरेर अस्पतालको कोभिड इमरजेन्सी र आइसोलेसन कक्षमा उपचाररत ४ पुरुष र तिन जना महिला गरि ७ जना उपचार पछि कोरोना जितेर घर फर्किएका हुन ।

विहिबार ३ जना र शुक्रबार ४ जना उपचार पछि घर फर्किएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

उनीहरु सवैलाई अक्सिजन दिएर उपचार गरिएको थियो । घर फर्किनेमा तिन देखि ११ दिन सम्म अस्पतालमा भर्ना भएर उपचार गरेका कोरोना संक्रमितहरु छन् ।

कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना भएका कन्चन ३ बुटबल स्थायी ठेगना भई हाल बेनी नगरपालिका ८ बस्ने २५ वर्षीय सुमन गोतामेले शुक्रबार अस्पतालबाट डिस्चार्ज हुँदा साढे आठहजार रुपियाँ बराबरको स्वास्थ्य सामाग्री समेत सहयोग गर्नुभएको छ ।

११ दिन सम्म अस्पतालमा बसेर राम्रो उपचार पाएको भन्दै खुसी भएर घर फर्किने क्रममा उहाँले अस्पताललाई उक्त सहयोग गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउुनभयो ।

शुक्रबार साँझ सम्म आइसोलेसन कक्षमा २३ जना,कोभिड इमरजेन्सीमा ३, र प्री आइसोलेसनमा ५ जना गरी ३१ जना विरामीहरु अस्पतालमा उपचाररत छन् ।

उनीहरु सवैलाई अक्सिजन दिएर उपचार गरिएको छ । थप अक्सिजनको अभाव नहोस भनेर अस्पतालले शुक्रबार नै पोखराबाट ४५ वटा अक्सिजन शिलिन्डर ल्याएको छ । आजै मात्र कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका एकसय २९ जनाले पनि कोरोना जितेर आइसोलेसन मुक्त भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।