बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

म्याग्दी ७ जेठ ।


म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्क खाना खुवाउन सुरु गरेका हुन् ।

बेनी अस्पतालमा भर्ना भएका विरामीहरुलाई अस्पतालमै निःशुल्क खानाको प्रवन्ध रहेको र त्यहाँ उपचाररत विरामीलाई उपचार गराउन आएका उनीहरुका आफन्त र कुरुवालाई खानाको असुविधा भएकाले लकडाउन अवधिभरका लागि निःशुल्क खाना खुवाउन थालिएको आइसीएलका जिल्ला अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

उहाँका अनुसार, बेनीको अस्पताल चोक नजीक रहेको मगर संघको हलमा दुई संगठनका स्वयमसेवकहरु परिचालन भएर विहान ९ देखि ११ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म खाना खुवाउने प्रवन्ध मिलाइएको छ ।

पहिलो दिन शुक्रवार विहान १३ जनालाई खाना खुवाईएको छ । अस्पतालमा उपचाररत विरामीका कुरुवा संगै लकडाउनको कारण खानाको प्रवन्ध नभएका अन्य व्यक्तिहरुलाई समेत निःशुल्क खाना खुवाउने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

वाईसिएल र अनेरास्ववियु (क्रान्तिकारी)ले हामी सेवा गर्न चाहन्छौँ भन्ने अभियान नै चलाएर लकडाउनको कारण उपचार गराउन र उपचार गराएर घर फर्कनका लागि समस्यामा परेकाहरुलाई निःशुल्क यातायात सेवा समेत सुचारु गरिरहेको अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रेशम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, लकडाउनको कारण समस्यामा परेका विपन्न, मजदुरका परिवारलाई राहत समेत उपलब्ध गराईएको छ ।