ताजा समाचार:
Search

बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन

ध्रुवसागर शर्मा / विकल्प न्यूज
जेठ ६ गते ।


म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ ।

बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९ जना संक्रमितले सेवा पाउनुका साथै संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा मास्क र हातधुने सामान लगाएतका स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरिएको छ ।

बगरफाँट युवा समूहद्धारा संचालन गरिएको उक्त हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुद्धारा प्राप्त सहयोग रकमबाट औषधी र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु किनेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताउनुभयो ।

थापाका अनुसार युवा समूहले विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमणबाट बच्न सचेतना अभियान संचालन गर्नुका साथै अप्ठ्यारो अवस्था महशुस भएमा स्वास्थ्य संस्थासम्म लैजानका लागि एउटा गाडीको समेत व्यवस्था गरेको छ ।

बगरफाँट सदरमुकाम बेनीबजारसंग जोडिएको गाउँ भएको र यहाँ वढी आवतजावत हुने भएकाले संक्रमणको खतरा अरु ठाउँमा भन्दा बढि नै छ । अहिले यहाँ १९ जना व्यक्तिहरु कोरोनाबाट संक्रमित हुनहुन्छ । कतिपय व्यक्तिहरुले कोरानालाई जितेर सहज अवस्थामा फर्किनुभएको छ ।

बगरफाँटमा कोरोना संक्रमितहरु प्हिचान भएपछि हेल्थ डेस्क संचालनका लागि पोखरा,काठमाण्डौं लगाएत विदेशमा रहेका बगरफाँटवासीहरुले स्थानीय युवाहरुलाई हेल्थ डेस्क स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए । सोही आग्रह अनुसार यहाँ रहेका युवाहरुले डेस्क स्थापना गरी अभियान संचालन गरेको अगुवा युवा थापाले बताउनुभयो ।

उहाँका अनुसार डेस्क संचालनका लागि गाउँमा रहेका अग्रज लगाएत देशका विभिन्न सहरमा रहनुभएका ज्यामरुककोटवासी र विदेशमा रहेका बगरफाँटका अग्रज युवाहरुबाट आर्थिक सहयोग प्राप्त भैरहेको छ ।
उहाँहरुबाट प्राप्त भएको सहयोगलाई एक पैसा पनि यताउती नगरी कोरोना संक्रमण विरुद्धको अभियानमा परिचालन गरिने युवा समूहका सदस्यहरुले बताउनुभएको छ ।