बेनी अस्पतालमा कोरोना संक्रमित विरामीका लागि अक्सिजन सहितका १० बेड खाली

विकल्प न्यूज/बेनी
जेठ ५ गते ।

 म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोभिड १९ संक्रमितको उपचारका लागि १० बेड खाली रहेका छन् । कोरोना संक्रमित विरामीका लागि अस्पतालले थप बेडको व्यवस्था गरेका कारण बेडको अभाव छैन । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले कोभिड विरामीको उपचारका लागि बेड क्षमता विस्तार गरेको हो ।

कोरोना संक्रमितको उपचारका लागि बनाइएका ४० बेड मा बुधवार १० बेड खाली रहेको अस्पतालले जनाएको छ । आजका दिनमा अस्पतालले ८ देखि १० जना कोभिड संक्रमित विरामीहरु भर्ना गरेर उपचार गर्न सक्ने क्षमता भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कोरोनाका विरामीहरु बढ्न थालेपछि हालै मात्र अस्पतालले २० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालन गरेको थियो ।

उहाँका अनुसा बुधवार अस्पतालको कोभिड इमरजेन्सीमा ५ जना,प्री आइसोलेसनमा ४ जना र कोभिड वार्डमा २२ जना गरी ३२ जना कोरोना संक्रमितका विरामीहरु उपचाररत छन् ।

सवै विरामीहरुलाई अक्सिजन दिइएको उहाँले बताउनुभयो । पछिल्लो समय संक्रमितहरु स्वाप्रश्वासमा समस्या भएपछि अस्पताल आउने गरेका छन् । अस्पतालले बनाएको अक्सिजन उत्पादन केन्द्रबाट सोजै पाइपबाट विरामीको बेड सम्म अक्सिजन पु¥याइएको छ ।

कोरोना संक्रमित भएर स्वासप्रश्वासमा समस्या भएकालाई मात्र अस्पतालले भर्ना गरेर उपचार गरिरहेको छ । कोभिडका अन्य विरामीहरु होमआइसोलेसनमा छन् ।

होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई स्वास्थ्यमा समस्या आएमा अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सिधै फोन मार्फत जानकारी लिन अस्पतालले अनुरोध गरेको छ । जटिल समस्या आएमा तत्काल उपचारका लागि तत्काल अस्पतालमा आउन पनि अनुरोध गरेको छ ।