कोरोना रोकथामका लागि रघुगंगामा सहयोग जुटन थाल्यो

विकल्प न्यूज/बेनी
जेठ ४ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले कोरोना महामारीमा प्राप्त हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत प्रकोप व्यवस्थापन कोष मार्फत परिचालन गर्ने गरि सहायोगको आह्वान गरे लगत्तै सहयोगदाताहरुले सहयोग गर्न सुरु गरेका हुन् ।

मंगलवार म्याग्दी सदरमुकाम बेनी स्थित मुक्तिनाथ हार्डवेयरका सञ्चालक तप्तबहादुर भण्डारी र धनदेवी भण्डारी दम्पतीले रघुगंगा गाउँपालिकाकाको कोभिड अस्थायी अस्पताललाई रु ३८ हजार बराबरको औषधी राख्ने फ्रिज र नगद रु ६२ हजार सहयोग हस्तान्तरण गर्नुभएको छ ।

महामारीको समयमा पालिकालाई संक्रमण नियन्त्रण र रोकथाम अभियानमा सहयोग पुगोस भन्ने उदेश्यले परिवारको तर्फबाट रु एक लाख बराबरको सहयोग हस्तान्तरण गरिएको सहयोगदाता भण्डारीले बताउनुभयो । भण्डारीले बेनी अस्पताललाई समेत रु २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिसक्नुभएको छ ।

गाउँपालिकाले सबै क्षेत्रबाट प्राप्त हुने सहयोगलाई कोषमा जम्मा गर्ने र आबश्यकता अनुसार महामारी नियन्त्रण, रोकथाम र उपचारको क्षेत्रमा मितव्यक्ति र पारदर्शी तवरले परिचालन गर्ने जनाएको छ । गाउँपालिकाले वडा नम्बर ३ स्थित कोभिड अस्थायी अस्पतालमा संक्रमितको उपचारका लागि २० वेड क्षमताको आइसोलेसन कक्ष सञ्चालन संगै विरामीको लागि आबश्यक पर्ने औषधीजन्य सामाग्री र अक्सिजन समेतको व्यवस्थापन गरेको छ । भगवतीमा १० बेड क्षमताको प्रिआइसोलेन कक्ष निर्माण गरिएको छ ।

गाउँपालिकालाई औषधीजन्य सामाग्रीको व्यवस्थापनमा सहयोगदाताहरु मार्फत समेत सहकार्य हुन थालेको छ । अहिलेसम्म मौवाफाँटका सहमाजसेवीहरु शिव केसी, धर्मराज सुवेदी र किशोर हमालले रु १ लाख १३ हजार बराबर तथा डाक्टर रवि मल्ल र वडा अध्यक्ष जिवन कुमार मल्लले रु १३ हजार बराबरको औषधीजन्य सामाग्री सहयोग गरिसक्नुभएको छ । त्यसैगरि कोभिड अस्पतालमा भर्ना हुन आउने विरामीहरुलाई लक्षित गरि अक्सिजनको व्यवस्थापनमा समेत सहयोग जुटेको छ ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका जेठा छोरा बुहारी पाइलट रमेशविक्रम भण्डारी र इन्दीरा भण्डारी दम्पतीले २० वटा अक्सीजन सिलिण्डर, यति धौलागिरि हार्डवेयरका का सञ्चालक इन्द्र मगरले १ ठुलो र ४ सानो गरि ५ वटा सिलिण्डर रिफिल खर्चको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पाइलट भण्डारी दम्पतीले पानी चिसो तातो बनाउने मेसिन समेत सहयोग गर्नुभएको छ । गाउँपालिकामा ४० वटा अक्सिजन सिलिण्डरको बन्दोबस्त गरिएको छ । गाउँपालिकाले नै खरिद गरेको १३ जेपि एसोसियटर्सबाट २० वटा सिलिण्डर पछि फिर्ता गर्ने गरि ल्याईएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो । त्यसैगरि कोभिड अस्पतालमा भर्ना हुने विरामी र उनका कुरुवालाई लक्षित गरि सञ्चालन गरिएको निशूल्क भोजनालयलाई समेत सहयोग प्राप्त हुन थालेको छ ।

मंगलवार शुभ मल्लले रु १० हजार बराबरको खाद्य सामाग्री सहयोग गर्नुभएको छ ।विरामीलाई निशुल्क खाना, खाजा, चिया, सुप लगायतका झोलिलो पदार्थ खुवाउनका लागि स्थानीय संघ संस्था, युवा क्लब र आमा समूहहरुको नेतृत्वमा पिप्लेमा निशूल्क भोजनालय सञ्चालन गरिएको छ ।

गाउँपालिकाको कोभिड अस्पतालमा १० जना भर्ना भएर उपचार गराईरहेका छन । मंगलवार २ जना डिसचार्ज भएका छन भने २ जनालाई रेफर गरिएको छ । गाउँपालिकाभित्र ३८ जना महिला र ४७ जना पुरुष होम आइसोलेनमा रहेका छन् ।

संक्रमितहरुलाई गाउँपालिकाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र स्वयमसेवक युवाहरु मार्फत समेत डाक्टरहरले अत्याबश्यक भनेर सिफारिस गरेका औषधीसंगै रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक औषधी समेत घरघरमा पु¥याउने थालेको छ । गाउँपालिकामा विरामीहरुलाई अस्पताल सम्म ल्याउन र घर पु¥याउनका लागि एउटा भाडाको जिप संगै गाउँपालिका अध्यक्ष भण्डारीको निजि स्कार्पियो जिपलाई एम्बुलेन्स बनाएर निशूलक रुपमा परिचालन गरिएको छ ।