कोरोना अपडेट ः बेनी अस्पतालको क्षमता विस्तार गर्न ढिला नगरौं

विकल्प डेक्स /बेनी
जेठ ३ गते ।

 

मिरमिर साँझ पर्न आँटेको थियो । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल इमरजेन्सी भवन अगाडि लामो सास फर्दै हुनुहुन्थ्यो । ‘आजलाई त बल्ल बल्ल म्यानेज गरियो । अव राती विरामी थपिएनन भने आजलाई सवै ठिकठाक नै छ ।’ उहाँले सुनाउनुभयो । सायद कोरोना महामारी सुरु भएपछिको आज धेरै विरामी अस्पतालमा आएको हुनुपर्दछ ।

आज (सोमबार) बेनी अस्पतालमा कोरोना संक्रमितका विरामीहरु चाप बढ्यो । दिउसो करिब पौने दुई बजेको हुनुपर्दछ, विरामीहरु अस्पतालमा भरिभराउ थिए । बेड नभएर केही विरामी गाडीमै थिए । बेडको चाँजोपाजो मिलाउन स्वास्थ्यकर्मी र स्वयमसेवकहरुको दौडधुप देखिन्थ्यो ।

माथिको भिडियोमा हे¥यौं भने पनि अस्पतालको आजको अवस्थाको चित्र देखिन्छ । स्वासप्रश्वासमा समस्या भएपछि आएका संक्रमितलाई राख्ने अक्सिजन सहितको बेड खाली थिएन । गाउँबाट ल्याइएका विरामीहरुलाई एम्बुलेन्स र गाडीमै अक्सिजन लगाएर राखिएको दृश्य भिडियोमा हेर्न सकिन्छ ।

स्वासप्रस्वासमा समस्या भएर अस्पतालमा आएका अक्सिजन दिनुपर्ने बिरामीहरु मात्र भर्ना लिँदा पनि २९ बेड भरिभराउ छ । बेनी अस्पतालको आजको क्षमता ३० बेड मात्र हो । कतिपय विरामीहरु त हाई फलो अक्सिजन दिनुपर्ने खालका छन् । आज केही विरामीहरु बेड नपाएर फर्किएका छन् । अस्पतालले विरामी भर्ना लिएन भनेर सामाजिक सञ्जालमा समेत गुनासो पोखिन थालेको छ ।

कोरोना संक्रमित थपिने क्रम उच्च छ । आजै मात्र पनि ८२ जनामा कोरोना पुष्टि भएको छ । गाउँगाउँमा कोरोना फैलिएको छ । भोलीका दिनहरुमा अझै ठूलो संख्यामा विरामीहरु अस्पतालमा आउन सक्छन् । बेनी अस्पतालले पर्वतको जलजलाका विरामीहरुको समेत उपचार गर्नुपर्ने छ । जलजलाको मल्लाज क्षेत्रमा कोरोना संक्रमण उच्च छ ।
कोरोना संक्रमण बढ्दै छ ।

बेनी अस्पतालको अहिलेको क्षमताले नागरिकको ज्यान बचाउन सक्दैन । कम्तिमा अझै अक्सिजन सहितको ५० बेडको तयारी हामीले गर्नुपर्दछ । त्यसका लागि सम्बन्धित सरोकारवाल निकायहरुको ध्यान जान जरुरी छ । त्यही अनुसारको बजेट, चिकित्सक,स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणहरुको व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ ।

बेनी अस्पतालको क्षमता विस्तारमा म्याग्दीका स्थानीय तहहरुले कन्जुँस्याईँ गर्नुहुँदैन । तत्काल जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि र डिसिसिएमसीका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला पक्षहरु वैठक बसेर ठोस निर्णय गर्नुपर्ने देखिन्छ ।