कोरोना रोकथामका लागि मालिकामा सोमबार देखि निषेधाज्ञा

विकल्प न्यूज/बेनी
बैशाख २७ गते ।

 जिल्लाको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार राती १२ बजे देखि लकडाउन गरेको छ । समुदायमा कोरोना संक्रमण फैलिएको र कोरोनाको चेन ब्रेक गर्न जेठ ६ गते सम्म लकडाउन गर्ने भएको हो ।

गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी निषधाज्ञा लगाउने निष्कर्षमा पुगेको हो । कोरोना संक्रमण दर बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो ।

समुदाय स्तरमा थप कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले स्वाब संकलन अभियान संचालन सुरु गरेको समेत बताउनुभयो । लकडाउनमा गाउँपालिका कार्यालय र वडाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेभएका छन् ।

उक्त अवधिमा बैँक तथा वित्तिय संस्था, विद्यालय, बजार, होटल पूर्ण रुपमा बन्द हुने र अत्याबश्यक बाहेक यातायात लगायतका सेवा समेत बन्द हुने जनाईएको छ । छिमेकी स्थानीय तह र मालिकाकै एक वडाबाट अर्को वडामा हुने आवत जावतसंगै भिडभाज हुने कार्यहरुलाई पूर्ण रुपमा रोक लगाईएको गाउँपालिकाले जनाएको छ ।अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा खुला रहनेछन् ।