ताजा समाचार:
Search

अंक प्रणालीमा जेठदेखि यसरी हुनेछ ट्रायल, ६० अंक ल्याए पास

विकल्प न्युज/ बेनी

चैत १९ गते ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ। कार्यविधि स्वीकृतसँगै अब सवारी अनुमतिपत्रका लागी लिइने ट्रायल परिक्षा अंक प्रणालीमा गर्ने बाटो खुलेको छ।

गत पुसमा यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षालाई सरलिकृत गर्ने गरी उक्त कार्यविधि तयार पारेको थियो।

यातायात विभागका प्रवक्ता लोकनाथ भुसालले सोमबार मन्त्रालयबाट उक्त कार्यविधि स्वीकृत भएर आएको जानकारी दिए। उनका अनुसार आगामी आर्थिक वर्षबाट नयाँ कार्यविधिको कार्यान्वयन हुने छ।

कार्यविधि अनुसार ट्रायल परीक्षामा १०० पूर्णाङ्क दिइनेछ।

जसमा ग्राहकले ६० अंक ल्याउनु पर्नेछ। जसमा समान्य गल्ती नभएपनि फेल नहुने प्रावधान राखिएको छ। पहिले सामान्य गल्तीले पनि ट्रायल फेल हुने गरेको थियो। विभागका प्रवक्ता भुसालले ट्रायल परीक्षमा चरणवद्धरुपमा फरक फरक अंक निर्धारण गरेको बताए।

यसरी हुनेछ ट्रायल

ट्रायल दिनुभन्दा ठिक अगाडी अर्थात सवारीमा चढ्दा र बाइकको अवस्थालाई समेत ख्याल गर्नुपर्छ। जस्तै बाइक चलाउनुभन्दा अगाडी ब्रेक, टायर र ऐनाहरुको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्ने छ।

हेलमेट लक नगरी सवारीमा चढेको खण्डमा ४ अंक घट्ने विभागले जनाएको छ। जथाभावि सवारी चलाएमा ३ अंक घट्ने विभागका प्रवक्ता भुसालले जानकारी दिए।

घुमारो आठ

ट्रायल परीक्षाको पहिलो चरण घुमाउरो आठमा २० अंक कायम गरिएको छ। जसमा एकपटकसम्म रेखामा छाएमा र खुट्टाले टेकमा १० अंक घट्नेछ। एक पटक गल्ती हुँदैमा परीक्षार्थी फेल हुनेछैनन्।

एक पटकभन्दा बढी गल्ती गरेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुने प्रावधान राखिएको भुसालको भनाई छ।

साँघुरो बाटो र युटर्न वा साइड लाइट

त्यस्तै, आठ कटाएपछिको साँघुरो फलेक अथावा बाटोको कुल १० अंक अनिवार्य गरिएको छ। यहाँ गल्ती गरेपनि छुट हुने छैन भने युटर्नमा पनि १० अंक नै कायम गरिएको छ।

युटर्नमा साइडलाइट नबालेमा अंक घट्नेछ भने रेखा छोएको खण्डामा फेल भएको घोषणा गरिने छ। ट्राफिक संकेत (लाइट) को अंकभार भने १५ राखिएको छ। यसलाई पालना नगरे नम्बर काटिने उक्त कार्यविधिमा उल्लेख छ।

स्पीड ब्रेकर र उकालो ओरालो

त्यस्तै, स्पिड ब्रेकमा १५ अंक दिइएको छ। उक्त ब्रेकरमा एक पटकसम्म भुइमा खुट्टा टेके ५ र सवारी स्टार्ट अफ भए ५ नम्बर काटिनेछ। धेरै पटक खुट्टा टेकेको खण्डमा फेल हुनेछ।

निर्देशिकामा उकालोलाई २० अंक दिइएको छ। जसमा एक मात्रै गल्ती भएपनि फेल हुनेछ। ओरालो र उकालोमा भने पहिलाकै नियम कायम रहने विभागले जनाएको छ।

हाल यो निर्देशिका मन्त्रालयबाट स्वीकृत भएर आएको छ। यसलाई विभागले पुनअवलोकन गर्नेछ।