ताजा समाचार:
Search

दरबाङमा १५ शैयाको अस्पताल सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्य /म्याग्दी
बेनी(म्याग्दी) चैत १२ गते ।

म्याग्दीको पश्चिम मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाख देखि १५ शैयाको अस्पताल सञ्चालनको तयारी गरिएको छ । मालिका गाउँपालिका र निक साइमन इन्स्टिच्युटको संयुक्त साझेदारीमा दरबाङ प्राथमिक स्वस्थ्य केन्द्रलाई स्तरोन्नति गरि अस्पताल बनाउन लागिएको हो ।

अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र चिकित्सकको व्यवस्थापन निकसाइमन र गाउँपालिकाले गरेका छन् । निकसाइमनले तत्कालका लागि १० लाख रुपियाँको उपकरण सहित एकजना चिकित्सक र एकजना स्टाफ नर्स उपलब्ध गराएको छ । साथै थप २० लाख भन्दा माथिको उपकरण निकसाइमनले उपलब्ध गराउने समझदारी भएको छ ।

अस्पताल बनाउन हाल भएको भवन मर्मत, बेडसहित विभिन्न उपकरण जडान, औषधिको व्यवस्थापन गरिएको मालिका गाउँपालिका ६ दरबाङका वडा अध्यक्ष सन्तनाथ जैसीले बताउनुभयो । भौतिक पूर्वाधार निर्माण र स्वास्थ्य उपकरण सहित जनशक्तिको व्यवस्थापन गरि वैशाख १ गतेबाट अस्पतालका रुपमा सेवा प्रवाह गर्ने गरी सञ्चालनमा ल्याउने तयारी भएको उहाँले बताउनुभयो ।

अस्पतालबाट आकस्मिक सेवा, ल्याव सेवा, एक्सरे सेवासहित, ओपिडी सेवा र आधारभुत चिकित्सकीय सेवा प्रदान गरिने चिकित्सक समिरण काफ्लेले जानकारी दिनुभयो । रिफर सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरि स्वास्थ्य सेवा प्रदान गरिने चिकित्सक काफ्लेले बताउनुभयो ।

अस्पताललाई आवश्यक पर्ने फामेर्सी १,हेल्थ असिस्टेन्ट १,अनमी १,अहेभ १, ल्याब असिस्टेन्ट १ र कार्यालय सहयोग १ गरी थप ६ जना जनशक्ति करारमा लिन गण्डकी प्रदेश सरकार समक्ष प्रस्ताव गरिएको उहाँले बताउनुभयो । हाल मेडिकल अफिसर ३ जना,हेल्थ असिस्टेन्ट १,अहेभ ३,अनमी ३,स्टार्फ नर्स,ल्याब टेक्निसियन १ र कार्यालय सहयोगी ३ जना कार्यरत छन् ।


जिल्लाको पश्चिम भेगका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा लिन सदरमुकाम बेनीमा जानुपर्ने बाध्यता हटाउन दरबाङमै अस्पताल बनाउन लागिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । अस्पतालका रुपमा सेवा सञ्चालन भएपछि दुर्गम भेगका सर्वसाधारणहरु सामान्य रोगका लागि पनि सदरमुकाम जानुपर्ने बाध्यता हट्ने र ठूलो जनसंख्या लाभान्वित हुने उहाँले बताउनुभयो ।

दुर्गमका सर्वसाधरणहरुलाई गाउँपालिका केन्द्रमै स्वस्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल बनाउन लागिएको पालिका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नति गर्न पालिकाले ३५ लाख रुपियाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

अस्पतालका लागि आवश्यक थप जनशक्तिको व्यवस्थापन गण्डकी प्रदेश सरकारबाट हुने उहाँले बताउनुभयो । प्राथमिक उपचार केन्द्रमा मंगला, मालिका, धवलागिरी गाउँपालिकासँगै पश्चिम बागलुङको ताराखोला गाउँपालिकाबाट समेत स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।